
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले खुलामञ्चबारे प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत गरेको टिप्पणी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेतर्फ लक्षित रहेको दाबी गरेका छन्।
एमाले स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले कांग्रेसको महाधिवेशनका क्रममा लामिछानेले दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री शाहले प्रतिक्रिया जनाएको आफूले बुझेको बताए।
बस्नेतका अनुसार कांग्रेस महाधिवेशनमा लामिछानेले पार्टीभित्र असहयोग गर्ने वा फरक ढंगले प्रस्तुत हुने व्यक्तिलाई सम्झाइरहनुभन्दा कारबाही गरेर हटाउनुपर्ने धारणा राखेका थिए। त्यस क्रममा आफूलाई नै लक्षित गरिएको हुनसक्ने बुझाइ प्रधानमन्त्री शाहमा परेको हुनसक्ने बस्नेतको भनाइ छ।
प्रधानमन्त्रीको तहबाट सामाजिक सञ्जालमा यस्तो टिप्पणी आउनु उचित नभएको बस्नेतले बताए।
उनले काठमाडौंका विभिन्न पूर्वाधार निर्माणमा विगतका सरकारको योगदान रहेको उल्लेख गर्दै खुलामञ्च, थापाथलीको आरसीसी पुल, सडक विस्तार तथा नदी करिडोरजस्ता संरचनाको निर्माणमा पूर्ववर्ती सरकारहरूको भूमिका रहेको दाबी गरे।
बस्नेतले अरूले निर्माण गरेका संरचनामा रंगरोगन, फूल रोप्ने वा बत्ती जडानजस्ता काम गरेर त्यसको सम्पूर्ण जस लिन खोज्ने प्रवृत्ति देखिएको आरोप पनि लगाए। प्रधानमन्त्री शाहले आलोचना सहन नसक्ने र अरूको कामको श्रेय लिन खोज्ने गरेको उनको दाबी थियो।








Facebook Comments