
काठमाडौं । सरकारले जारी गर्न सिफारिस गरेका तीन वटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार तयार गरिएका अध्यादेश बिहीबार साँझ करिब ५ बजे राष्ट्रपति कार्यालयमा पुगेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार तीन वटै अध्यादेश कार्यालयमा प्राप्त भए पनि राष्ट्रपतिसमक्ष पेश गर्न भने बाँकी छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने, वनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने र विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
विपद्सम्बन्धी अध्यादेश भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसबाट सिर्जित परिस्थितिलाई ध्यानमा राखेर ल्याउन लागिएको सरकारले जनाएको छ। प्रस्तावित व्यवस्थाअनुसार विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न लाग्ने समयावधि घटाउने तयारी गरिएको छ। हाल १२ वर्षसम्म बेपत्ता भएपछि मृत घोषणा गर्न सकिने व्यवस्था रहेकामा विपद्को अवस्थामा ४५ दिनमै मृत घोषणा गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।
भूमिसम्बन्धी अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषय समेटिएको छ।
राष्ट्रपतिले अध्यादेश जारी गरेपछि त्यसमा प्रस्ताव गरिएका कानुनी व्यवस्था कार्यान्वयनमा आउनेछन्।








Facebook Comments