
काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले पार्टीको १५औँ महाधिवेशन विगतका महाधिवेशनको तुलनामा कम खर्चमा सम्पन्न भइरहेको दाबी गरेका छन्। उनका अनुसार यसपटक महाधिवेशनको खर्च करिब ४० प्रतिशतसम्म घट्नेछ।
बिहीबार महाधिवेशनस्थलमा आयोजित प्रेस ब्रिफिङमा श्रेष्ठले प्रतिनिधिबाट उठाइने शुल्कसमेत घटाइएको जानकारी दिए। विगतमा प्रतिनिधिबाट ५ हजार रुपैयाँ लिने गरिएकोमा यसपटक ३ हजार ५ सय रुपैयाँ मात्र शुल्क तोकिएको उनले बताए।
श्रेष्ठले यसपटकको महाधिवेशनलाई पार्टीको इतिहासमै कम खर्चिलो भएको दाबी गरे। लजिस्टिक व्यवस्थापनमा खर्च कटौती गरिएकाले समग्र लागत घटाउन सकिएको उनको भनाइ छ।
महाधिवेशनमा प्रतिनिधिका लागि ‘हाफ क्याटरिङ’को व्यवस्था गरिएको छ। खानालगायत क्याटरिङको खर्च पार्टीले नै व्यहोर्ने भएकाले प्रतिनिधिबाट लिइने शुल्क कम राख्न सम्भव भएको श्रेष्ठले बताए।
उनका अनुसार महाधिवेशन व्यवस्थापनका विभिन्न शीर्षकमा खर्च कटौती गरिएको छ। विशेषगरी लजिस्टिकतर्फको खर्च घट्दा विगतको तुलनामा समग्र आर्थिक भार कम भएको कांग्रेसको दाबी छ।
यसैबीच, बिहीबार मतदान हुन नसकेपछि कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचन शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म गर्ने तयारी गरिएको छ। निर्वाचन समितिका अनुसार महाधिवेशनमा ७ हजार ३१७ मतदाता र करिब ८५० जना उम्मेदवार छन्।
निर्वाचन प्रक्रिया एक दिन लम्बिएपछि काठमाडौंमा थप बस्नुपर्ने प्रतिनिधिहरूको एक दिनको आवास तथा खानपिन खर्च पार्टीले नै व्यहोर्ने कांग्रेसले जनाएको छ।









Facebook Comments