काठमाडौं । नेकपा एमालेले स्थानीय तहका पार्टी कमिटीका अधिवेशनको मिति तय गरेको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर २६ गते वडा कमिटी र पुस ४ गते पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको हो।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले स्थानीय तहका अधिवेशनको कार्यतालिका तय गरेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

ad

बैठकले आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णयसमेत गरेको छ। भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधिको सहभागिता रहने आचार्यले बताए।

वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय पनि एमालेले गरेको छ।

बैठकको सुरुवातमा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पार्टीको वरिष्ठ नेतामा मनोनीत विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।

यसैबीच, मधेस प्रदेशसभामा समानुपातिकतर्फ रौतहटबाट प्रतिनिधित्व गरेकी जैनब खातुनको निधनपछि रिक्त स्थानमा समानुपातिक सूचीमा रहेकी नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा जानकारी पठाउने निर्णय बैठकले गरेको छ।

त्यस्तै, १३ जिल्लामा रिक्त जिल्ला अध्यक्षको पद सम्बन्धित जिल्ला कमिटीको निर्णयबाट पूर्ति गर्ने र त्यसलाई माथिल्लो कमिटीबाट अनुमोदनका लागि पठाउने निर्णय पनि स्थायी कमिटीले गरेको छ।

एमाले स्थायी कमिटीको बैठक शुक्रबार पुनः बस्नेछ।