काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसोबास र खानपिन खर्च पार्टीले नै व्यहोर्ने भएको छ।

कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचन प्रक्रिया एक दिन पछि सरेकाले प्रतिनिधिहरूलाई थप आर्थिक भार नपर्ने गरी पार्टीले आवश्यक व्यवस्था गर्ने जानकारी दिए।

ad

महाधिवेशन असोज २२ गतेभित्र सम्पन्न गर्ने तयारी भए पनि निर्वाचन प्रक्रिया निर्धारित समयमै पूरा हुन नसकेपछि प्रतिनिधिहरूले काठमाडौंमा थप एक दिन बस्नुपर्ने भएको हो। त्यसको आवास तथा भोजन खर्च पार्टीले नै व्यवस्थापन गर्ने श्रेष्ठले बताए।

कांग्रेसले आवास आवश्यक पर्ने प्रतिनिधिका लागि छुट्टै व्यवस्था गरेको जनाएको छ। मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार थप एक दिन बस्नुपर्ने प्रतिनिधिले आफ्नो क्षेत्रीय सभापतिमार्फत बिहीबार साँझ वा शुक्रबार बिहान केन्द्रीय कार्यालयमा रहेको डेस्कमा सम्पर्क गर्नुपर्नेछ। त्यसपछि आवश्यकताअनुसार आवासको व्यवस्था गरिनेछ।

भोजनको व्यवस्था पनि थपिएको दिनमा निरन्तर रहने कांग्रेसले जनाएको छ। पूर्वनिर्धारित तालिकाअनुसार बिहीबार साँझको खाना उपलब्ध हुनेछ भने थप एक दिनका लागि भृकुटीमण्डपमा रहेको साविककै स्थानबाट भोजनको व्यवस्था गरिनेछ।

निर्वाचन समितिले संशोधित कार्यतालिकाअनुसार असोज २३ गते शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने जनाएको छ। मतदान सम्पन्न भएपछि नयाँ केन्द्रीय कार्यसमिति चयनको प्रक्रिया अघि बढ्नेछ।