काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानमा एकपटकमा १५० देखि २०० जनासम्म प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहीबार खुलामञ्चस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा मतदानलाई सहज र छिटो सम्पन्न गर्न यस्तो व्यवस्था गरिएको जानकारी दिए।

ad

निर्धारित कार्यतालिकाअनुसार बिहान ७ बजेदेखि मतदान सुरु गरी दिउँसो ३ बजेसम्म सम्पन्न गर्ने तयारी छ। मतदानस्थलमा एकैपटक ठूलो संख्यामा प्रतिनिधिले मतपत्रमा स्वस्तिक छाप लगाउन सक्ने गरी आवश्यक व्यवस्थापन गरिएको खड्काले बताए।

उनका अनुसार बागमती प्रदेशका प्रतिनिधिका लागि राष्ट्रिय सभागृहमा मतदान केन्द्र तोकिएको छ भने अन्य प्रदेश तथा समूहका प्रतिनिधिका लागि खुलामञ्चमा छुट्टाछुट्टै मतदान केन्द्र निर्माण गरिएको छ।

कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ८५० जना उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन समितिका अनुसार मतदानका लागि ७ हजार ३१४ जना महाधिवेशन प्रतिनिधि मतदाता कायम भएका छन्।

ठूलो संख्यामा प्रतिनिधिले मतदान गर्ने भएकाले समयमै मतदान सम्पन्न गर्न मतदान केन्द्र र मतपत्र व्यवस्थापनलाई प्राथमिकतामा राखिएको निर्वाचन समितिले जनाएको छ।