
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहानदेखि हुने भएको छ। यसअघि बिहीबार नै मतदान गर्ने तयारी भए पनि खराब मौसम, प्राविधिक तयारी र मतपत्र छपाइमा लागेको समयका कारण मतदान एक दिन पछि सारिएको हो।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उम्मेदवार र मतदाताको संख्या धेरै भएकाले मतपत्र तयार गर्न समय लागेको छ। बिहीबार ढिला मतदान सुरु गर्दा रातिसम्म मतदान गर्नुपर्ने अवस्था आउने भएकाले शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने निर्णय गरिएको उनले जानकारी दिए।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदानका लागि आवश्यक तयारी पूरा भइसकेको बताए। उनका अनुसार ठूलो संख्यामा मतपत्रमा हस्ताक्षर गर्नुपर्ने भएकाले उनीसहित ३२ जना वरिष्ठ अधिवक्ता त्यस काममा खटिएका छन्।
महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको शुक्रबारको होटल बसाइ र खानाको खर्च पार्टीले नै व्यहोर्ने आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले जानकारी दिए।
प्रदेशअनुसार छुट्टाछुट्टै मतदान केन्द्र
निर्वाचन समितिले प्रतिनिधिको सहजताका लागि प्रदेश र समूहअनुसार विभिन्न मतदान केन्द्र तोकेको छ।
राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ — बागमती प्रदेश
खुलामञ्च, मतदान केन्द्र ‘ख’ — कोशी प्रदेश
हिमाल हल — गण्डकी प्रदेश
तराई–मधेस हल — मधेश प्रदेश
पहाड हल — लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि
निर्वाचन समितिका अनुसार महाधिवेशनमा ७ हजार ३ सय १७ प्रतिनिधि रहेकामा ७ हजार २५५ जनाले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्।
मतदानअघि परिचयपत्र र नामावली रुजु
मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूले आफूलाई तोकिएको मतदान केन्द्रमा पुग्नुपर्नेछ। मतदानअघि परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ।
रुजु प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न पाइनेछ। निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री मतदानस्थलमा लैजानसमेत रोक लगाइएको छ। मोबाइल फोनलगायत निषेधित सामग्रीसहित मतदानस्थलमा प्रवेश गर्न नपाइने निर्वाचन समितिले जनाएको छ।
उम्मेदवारी प्रक्रिया सकियो
केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया यसअघि नै पूरा भइसकेको छ। निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।
अब मतदानमार्फत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य चयन हुनेछन्। पदअनुसार छुट्टाछुट्टै मतपत्रमा प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ।
मतदानपछि मतगणना
शुक्रबार दिउँसो ३ बजे मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ। मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिनेछ।
१५औँ महाधिवेशनले कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। मतदानबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन्।









Facebook Comments