काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि २३ प्रकारका मतपत्र तयार गरिएको छ। निर्वाचन समितिका अनुसार निर्वाचनका लागि करिब २ लाख मतपत्र छापिएका छन्।

बिहीबार खुलामञ्चस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले विभिन्न समूह र क्लस्टरअनुसार फरक–फरक मतपत्र आवश्यक परेकाले २३ डिजाइनमा मतपत्र छापिएको जानकारी दिए।

ad

कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ८५० जना उम्मेदवार प्रतिस्पर्धामा रहेको उनले बताए। विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेकाले मतपत्रको डिजाइनसमेत फरक–फरक बनाउनुपरेको कटुवालको भनाइ छ।

निर्वाचन समितिका अनुसार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि मतदाता कायम भएका छन्। उनीहरूले विभिन्न पद र समूहका लागि तोकिएका सम्बन्धित मतपत्रमा मतदान गर्नेछन्।