काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने भएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उम्मेदवार र महाधिवेशन प्रतिनिधिको संख्या धेरै भएकाले मतपत्र छपाइमा समय लागेको तथा साँझबाट मतदान सुरु गर्दा रातिसम्म मतदान गर्नुपर्ने अवस्था आउने भएकाले समय परिवर्तन गरिएको हो। मतदान शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।

ad

महाधिवेशनमा ७ हजार ३ सय १७ जना प्रतिनिधि रहेको निर्वाचन समितिले जनाएको छ। तीमध्ये ७ हजार २५५ जना प्रतिनिधिले केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदानका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार ठूलो संख्यामा मतपत्रमा हस्ताक्षर गर्नुपर्ने भएकाले उनीसहित ३२ जना वरिष्ठ अधिवक्ता त्यस काममा खटिएका छन्।

विभिन्न स्थानमा मतदान केन्द्र
महाधिवेशन प्रतिनिधिको सहजताका लागि निर्वाचन समितिले प्रदेश तथा समूहअनुसार छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ।

राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ — बागमती प्रदेश
खुलामञ्च, मतदान केन्द्र ‘ख’ — कोशी प्रदेश तथा तराई–मधेस समूह
हिमाल हल — गण्डकी प्रदेश
तराई–मधेस हल — मधेश प्रदेश
पहाड हल — लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि
मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूले आफूलाई तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।

परिचयपत्र र नामावली रुजु अनिवार्य
मतदानअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न दिइने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्रीसहित मतदानस्थलमा प्रवेश गर्न पाइने छैन। मोबाइल फोनलगायतका सामग्री मतदानस्थलमा लैजानसमेत रोक लगाइएको समितिले जनाएको छ।

महाधिवेशन एक दिन लम्बिएपछि खानाबसाइको खर्च पार्टीले बेहोर्ने
महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप बसाइ र खानाको खर्च नेपाली कांग्रेसले नै बेहोर्ने भएको छ।

आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले शुक्रबारको होटल बसाइ तथा खानाको खर्च पार्टीले व्यहोर्ने जानकारी दिएका छन्।

उम्मेदवारी प्रक्रिया सकियो
केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।

अब हुने मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहबाट केन्द्रीय सदस्य चयन हुनेछन्। उम्मेदवारअनुसार फरक–फरक मतपत्रमा प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ।

मतदानपछि मतगणना
शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

मतगणना पूरा भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिनेछ। त्यससँगै १५औँ महाधिवेशनबाट कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ।

कांग्रेसले विधान संशोधनमार्फत केन्द्रीय कार्यसमितिको संख्या २९७ सदस्यीय बनाएको छ। नयाँ संरचनाअनुसार निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालमा पार्टीको नेतृत्व सम्हाल्नेछन्।

शुक्रबार हुने मतदानबाट सभापतिसहितका पदाधिकारी र केन्द्रीय सदस्य चयन हुने भएकाले महाधिवेशनको निर्वाचनलाई पार्टीको आगामी संगठनात्मक नेतृत्व निर्धारण गर्ने प्रक्रियाका रूपमा हेरिएको छ।