
काठमाडौं । सरकारले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसहित विभिन्न ६ वटा निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
मन्त्रिपरिषद्ले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसका आधारमा क्षतिपूर्ति पाउनुपर्ने १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णयसमेत गरेको छ। त्यस्तै, पोर्चुगल सरकारलाई काठमाडौंमा महावाणिज्यदूतावास स्थापना गर्न अनुमति दिने निर्णय भएको छ।
तीन सचिवस्तरीय पदमा बढुवा
मन्त्रिपरिषद्ले विभिन्न सेवाका तीन जना अधिकारीलाई विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णयसमेत गरेको छ। नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फका सहसचिव नवीनराज सिंहलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरिएको छ।
त्यसैगरी, नेपाल प्रशासन सेवा समूहीकरणतर्फका सहसचिव चक्रबहादुर बुढालाई पनि विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ।
नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फका नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।









Facebook Comments