काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी विषयमा राजनीतिक आग्रह–पूर्वाग्रहबाट प्रभावित नभई निष्पक्ष अध्ययन गरिने बताएकी छन्।

बुधबार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले उपसमितिले उपलब्ध तथ्य र कागजातका आधारमा निष्कर्षमा पुग्ने बताइन्।

ad

उनका अनुसार निर्वाचन प्रहरीको पोसाक खरिद प्रक्रियालाई लिएर सार्वजनिक लेखा समितिमा उजुरी परेपछि त्यसको अध्ययन गर्नु उपसमितिको जिम्मेवारी हो। उजुरीमा उठाइएका विषयलाई केन्द्रमा राखेर खरिद प्रक्रियासँग सम्बन्धित कागजात र तथ्यको परीक्षण गरिने उनले बताइन्।

ओलीले उपसमितिको अधिकार कसैलाई दोषी ठहर गर्ने वा कारबाही गर्ने नभएको स्पष्ट पारिन्। अध्ययनबाट प्राप्त तथ्यका आधारमा प्रतिवेदन तयार गरी आवश्यक सिफारिस गर्ने जिम्मेवारी मात्र उपसमितिको रहेको उनको भनाइ छ।

उनले राजनीतिक प्रभावभन्दा माथि रहेर अध्ययन गर्नुपर्नेमा जोड दिँदै उपलब्ध प्रमाण र कागजातकै आधारमा विषयको निष्कर्ष निकालिने बताइन्।

उपसमितिले निर्वाचन प्रहरीसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोसाक खरिद प्रक्रियासँग सम्बन्धित विवरणसमेत अध्ययन गरिरहेको छ।