काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संसद् पुनर्स्थापनाको बहस अब व्यावहारिक नरहेको बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलामञ्चमा जारी बन्दसत्रलाई सम्बोधन गर्दै थापाले सरकार गठन भइसकेको अवस्थामा संसद् पुनर्स्थापनाको विषय उठाएर अदालतको निर्णय कुरिरहनुको औचित्य नरहेको धारणा राखे।

ad

उनका अनुसार राजनीतिक घटनाक्रम अघि बढिसकेको अवस्थामा विगतको अवस्थामा फर्किने बहसले नयाँ राजनीतिक प्रक्रियालाई गति दिनुको सट्टा समय मात्र खेर फाल्नेछ।

‘संसद् पुनर्स्थापनाको विषय कहिलेकाहीँ उठ्न सक्छ। तर सरकार नयाँ बनिसक्यो, परिस्थिति कहाँ पुगिसक्यो,’ थापाले भने, ‘अब संसद् पुनर्स्थापनाको कुरा लिएर अदालतमा अड्किएर बस्ने र अदालतले केही गरिदेला कि भनेर कुरिरहने हो भने त्यसले समयको बर्बादी मात्रै गर्छ।’

थापाले बदलिएको राजनीतिक परिस्थितिअनुसार अबको ध्यान आगामी कार्यदिशा र राजनीतिक काममा केन्द्रित गर्नुपर्ने संकेत गरेका छन्।