काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले पार्टीको आगामी नेतृत्व चयनका लागि मताधिकार प्रयोग गर्नेछन्।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका थियो। तर वर्षा र केही प्राविधिक तयारी पूरा गर्न समय लागेपछि मतदान तीन घण्टा पछि सारिएको हो।

ad

प्रतिनिधिको चाप व्यवस्थापन गर्दै मतदानलाई सहज बनाउन काठमाडौंका तीन स्थानमा सातवटा मतदान केन्द्र निर्धारण गरिएको छ। प्रदेश र प्रतिनिधित्वको प्रकृतिअनुसार प्रतिनिधिलाई छुट्टाछुट्टै केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ।

तीन स्थानमा मतदान केन्द्र
निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदानको व्यवस्था गरिएको छ।

राष्ट्रिय सभागृहमा बागमती प्रदेशबाट निर्वाचित महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।

खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूले पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले प्रज्ञा–प्रतिष्ठानमा मतदान गर्नेछन्। निर्धारित केन्द्रअनुसार सम्बन्धित प्रतिनिधिले आफ्नो मतदानस्थलमा पुगेर मताधिकार प्रयोग गर्नुपर्नेछ।

परिचयपत्र र मतदाता नामावली रुजु अनिवार्य
निर्वाचन समितिले मतदानअघि प्रतिनिधिको परिचय र मतदाता नामावली रुजु गर्ने व्यवस्था गरेको छ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिले मतदान गर्न पाउनेछन्।

बिहीबार हुने मतदानबाट कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन हुनेछ। मतदानका लागि आवश्यक तयारी पूरा गरिएको निर्वाचन समितिले जनाएको छ।