
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति तथा १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार अमरसिंह पुनले पार्टी सभापति क्रियाशील सदस्यबाटै प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पुनले कांग्रेसको आन्तरिक निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको भन्दै वडा तहदेखि केन्द्रसम्म प्रत्यक्ष निर्वाचनको अभ्यास लागू गर्नुपर्ने धारणा राखे।
उनका अनुसार कांग्रेसका देशभरका ६ हजार ७४३ वडादेखि केन्द्र र विदेशस्थित जनसम्पर्क समितिसम्म क्रियाशील सदस्यले प्रत्यक्ष रूपमा सभापति चुन्न पाउने व्यवस्था गर्नुपर्छ। प्रत्यक्ष निर्वाचित सभापतिले क्षमता, समावेशिता र भौगोलिक सन्तुलनलाई आधार बनाएर कार्यसमिति गठन गर्ने प्रणाली विकास गर्नुपर्ने उनको प्रस्ताव छ।
पुनले हालको विधानले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा र सहकार्यको वातावरण निर्माण गर्न नसकेको दाबी गरे।
‘विधानकै व्यवस्थाका कारण पार्टीका साथीहरूबीच एकता र सहकार्य कमजोर भएको छ,’ उनले भने, ‘क्रियाशील सदस्यबाट प्रत्यक्ष सभापति निर्वाचित गर्ने र सभापतिले सक्षम तथा समावेशी कार्यसमिति बनाउने प्रणाली आवश्यक छ।’
यही एजेन्डालाई अघि बढाउन आफूले महामन्त्रीमा उम्मेदवारी दिएको पुनले बताए। १५औँ महाधिवेशनपछि महासमिति बैठक बोलाएर पार्टीको विधान संशोधन गर्नुपर्नेमा समेत उनले जोड दिए।
पुनले कांग्रेसले मुलुकका विभिन्न राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरे पनि पार्टीको इतिहास र योगदानलाई नयाँ पुस्तासम्म प्रभावकारी रूपमा पुर्याउन नसकेको बताए।
बीपी कोइरालादेखि सुशील कोइराला र शेरबहादुर देउवासम्मका नेताले पार्टी र मुलुकको राजनीतिमा पुर्याएको योगदान नयाँ पुस्तालाई बुझाउनुपर्ने उनको भनाइ छ। इतिहासको ज्ञान र वर्तमान पुस्ताको सोचबीच सम्बन्ध स्थापित गर्न नसक्दा पार्टीभित्र राजनीतिक उतारचढाव देखिएको उनले बताए।
यद्यपि पुस्तान्तरणको नाममा पुरानो पुस्तालाई विस्थापित गर्न नहुने पुनको धारणा छ। पुरानो पुस्ताको अनुभवलाई युवाको नयाँ सोचसँग जोडेर कांग्रेसलाई अघि बढाउनुपर्ने उनले बताए।
उनका अनुसार पुस्ताबीचको सहकार्यलाई बलियो बनाउन सके नेतृत्व हस्तान्तरणलाई प्रतिस्पर्धाको विषयभन्दा सहकार्य र निरन्तरताको प्रक्रियाका रूपमा विकास गर्न सकिन्छ।
पुनले पार्टीको नेतृत्व संरचनामा समावेशी प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउनुपर्ने बताए। कांग्रेसमा विभिन्न जातजाति र समुदायको सहभागिता भए पनि मगर समुदायबाट पार्टीको उच्च तहमा पर्याप्त प्रतिनिधित्व हुन नसकेको उनको भनाइ छ।
प्रत्यक्ष निर्वाचन प्रणाली, पुस्ताबीचको समन्वय र समावेशी नेतृत्वलाई आफ्नो उम्मेदवारीका मुख्य एजेन्डा बनाएका पुनले १५औँ महाधिवेशनपछि कांग्रेसको विधान र संगठनात्मक संरचनामा पुनर्विचार आवश्यक रहेको बताए।
उनले पार्टीको आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउन निर्वाचन प्रणालीदेखि नेतृत्व चयनसम्मका प्रक्रियामा सुधार गर्नुपर्नेमा जोड दिए।









Facebook Comments