काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले १५औँ महाधिवेशनले पार्टीप्रति विभिन्न उमेर समूहको आकर्षण र भरोसा बढेको बताएका छन्।

महाधिवेशनको बन्दसत्र समापन समारोहमा बोल्दै आङ्देम्बेले यसपटक पार्टीको नीति, सिद्धान्त र आगामी राजनीतिक कार्यदिशामाथि भएको छलफलले महाधिवेशनलाई विगतभन्दा फरक बनाएको बताए।

ad

उनले विगतका महाधिवेशनमा नीति र भावी कार्यदिशाबारे पर्याप्त बहस हुने नगरेको उल्लेख गर्दै यसपटकको छलफलले कांग्रेसको राजनीतिक सोचमा परिवर्तनको संकेत दिएको बताए।

‘विगतका बन्दसत्रमा नीति, सिद्धान्त र भावी कार्यदिशाबारे यसरी छलफल भएको देखेको थिइनँ। त्यसैले मेरा लागि पनि यो कांग्रेसको नौलो महाधिवेशन हो,’ आङ्देम्बेले भने, ‘यसले कांग्रेसको नीति र सोचमा पनि परिवर्तन ल्याउने अपेक्षा गरेको छु।’

महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिताले कांग्रेसको राष्ट्रिय राजनीतिक भूमिकालाई पनि देखाएको उनको भनाइ थियो।

आङ्देम्बेले कांग्रेसलाई विगतमा ‘बूढापाकाको पार्टी’ भनेर टिप्पणी गरिए पनि अहिले पार्टीमा युवा पुस्ताको सहभागिता उल्लेख्य रूपमा बढेको बताए।

‘पहिला कांग्रेसलाई बूढापाकाहरूको पार्टी भन्ने गरिन्थ्यो। अहिले १८ वर्षका युवा–युवतीदेखि सबै उमेर समूहको सहभागिता देखिएको छ,’ उनले भने, ‘कांग्रेस सबै उमेर समूहले भरोसा गर्ने पार्टीका रूपमा स्थापित हुँदै गएको छ।’

उनले १५औँ महाधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वले पार्टीको नीति, सोच र कार्यदिशालाई समयअनुकूल बनाउँदै संगठनलाई अघि बढाउनुपर्नेमा जोड दिए।

आङ्देम्बेका अनुसार महाधिवेशनबाट प्राप्त राजनीतिक सन्देशलाई व्यवहारमा उतार्दै कांग्रेसले आगामी दिनमा नयाँ नीति र कार्यक्रमसहित अघि बढ्नुपर्ने आवश्यकता छ।