काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षलाई अब कुनै अन्योलमा नपरी पार्टीको मूलधारमा फर्किन आग्रह गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रलाई सम्बोधन गर्दै थापाले पार्टीभित्र बसेपछि सबैले विधान र अनुशासन पालना गर्नुपर्ने बताए। उनले महाधिवेशनमा सहभागी नभएका देउवासहितका नेताहरूलाई समेत पार्टीको आगामी यात्रामा सँगै अघि बढ्न आह्वान गरे।

ad

थापाले देउवाको कांग्रेस निर्माणमा रहेको योगदानको स्मरण गर्दै आफूहरूलाई उनको अनुपस्थितिले खल्लो लागेको बताए। उनले पार्टीका सबै पक्षलाई समेटेर अघि बढ्ने आफ्नो चाहना रहेको स्पष्ट पारे। ‘यो पार्टी तपाईंले र हामी सबैले मिलेर बनाएको पार्टी हो। श्रद्धेय निवर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो जीवनकालमा कांग्रेसका लागि लामो संघर्ष गर्नुभएको छ,’ थापाले भने, ‘आज यो मञ्चमा हाम्रा दाइहरू पनि हुनुपर्थ्यो। हामीलाई यो अवस्था मीठो लागेको छैन।’

उनले पार्टीभित्रका असन्तुष्टि र विवादलाई थप लम्ब्याउन नहुनेमा जोड दिए। कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने उद्देश्य रहेकाले सबै पक्षलाई अब अन्योल त्यागेर पार्टीको काममा केन्द्रित हुन उनले आग्रह गरे।

अदालतको विषय टुंग्याउन आग्रह

थापाले कांग्रेसको वैधानिकता र महाधिवेशनसँग सम्बन्धित विषयमा अदालतमा जारी प्रक्रियालाई अब अन्त्य भएको विषयका रूपमा लिनुपर्ने बताए।

उनले सर्वोच्च अदालतमा कांग्रेसको वैधानिकतासम्बन्धी विषयमा संवैधानिक इजलासमा बहस हुनुपर्ने मागसहित परेको निवेदनसमेत दरपीठ भएको उल्लेख गरे। पार्टी विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन हुँदै १५औँ महाधिवेशनसम्म आइपुगेको उनको भनाइ थियो।

‘अब अदालतको विषय च्याप्टर क्लोज गरौँ,’ थापाले भने, ‘अब तल कोही पनि अलमलिने होइन। पार्टीको रेल अगाडि बढिसक्यो। अब सरासर जाने र पार्टीको काम गर्ने हो।’

थापाले कांग्रेसको आगामी यात्रा संगठन सुदृढीकरण र राजनीतिक काममा केन्द्रित हुनुपर्ने बताउँदै सबै नेता–कार्यकर्तालाई पार्टीको नयाँ दिशामा अघि बढ्न आग्रह गरे।