काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक राजनीतिक विषयसम्बन्धी प्रस्ताव पारित गरेको छ।

शर्माको प्रस्तावमा पछिल्लो राजनीतिक परिवेशसँगै लोकतान्त्रिक संस्कृतिमा देखिँदै आएको क्षय र त्यसले कांग्रेससहित समग्र राजनीतिक प्रणालीमा पारेको प्रभावका विषय समेटिएका छन्। बन्दसत्रले छलफलपछि प्रस्तावलाई अनुमोदन गरेको हो।

ad

प्रस्ताव पारित भएपछि शर्माले कांग्रेसको बन्दसत्रका विषयवस्तुलाई व्यापक रूपमा सार्वजनिक बहसमा ल्याइएको बताए। उनले पार्टीभित्रको छलफललाई खुला संसारले सुन्न सक्ने गरी प्रस्तुत गर्नु आफैंमा महत्वपूर्ण र ऐतिहासिक अभ्यास भएको दाबी गरे।

शर्माले कांग्रेसलाई निर्वाचनमा जित वा हार जुनसुकै अवस्थामा पनि जनताको आवाज सुन्ने राजनीतिक संस्कार विकास गर्नुपर्ने बताए। उनका अनुसार पार्टीले सफलता पाउँदा मात्र होइन, पराजय भोग्दासमेत जनतासँग संवाद कायम राख्नुपर्छ।

उनले कांग्रेसलाई जनताको गुनासो सुन्ने मात्र नभई समाधानको बाटो देखाउने र आशा तथा भरोसा जगाउने पार्टीका रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।

‘कांग्रेस सुन्न चाहन्छ, हार्दा र जित्दा पनि हाँस्छ,’ शर्माले भने, ‘अब गुनासो होइन, आशा, विश्वास र भरोसा गर्ने कांग्रेस बनाउनुपर्छ।’

उनका अनुसार आगामी कांग्रेसले निराशाभन्दा सम्भावना, समस्या औँल्याउनेभन्दा समाधान र जनतासँग दूरीभन्दा निरन्तर संवादलाई प्राथमिकता दिनुपर्नेछ।