
काठमाडौं । म्यादी प्रहरीका लागि खरिद गरिएको पोसाकमा भएको भनिएको अनियमितताबारे संसदीय छानबिन सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन्।
संघीय संसद्को सार्वजनिक लेखा समितिअन्तर्गत गठित छानबिन उपसमितिको पहिलो बैठकमा सहभागी सुनारले प्रहरी, सशस्त्र प्रहरी, सुरक्षा संयन्त्र र गृह प्रशासनबाट प्राप्त कागजातको प्रारम्भिक अध्ययन गरिएको जानकारी दिए।
उनका अनुसार उपसमितिले छानबिनको कार्यविधि तय गरिसकेको छ। अब खरिद प्रक्रियामा प्रत्यक्ष रूपमा संलग्न व्यक्ति तथा सम्बन्धित निकायका अधिकारीलाई बोलाएर सोधपुछ गर्ने र आवश्यक प्रमाण संकलन गर्ने तयारी छ।
म्यादी प्रहरीको पोसाक खरिदमा प्रहरी नेतृत्वको भूमिकामाथि प्रश्न उठाउँदै आएको बताउने सुनारले आफू छानबिनमा सक्रिय भएपछि आफूविरुद्ध बदनाम गर्ने अभियान चलाइएको आरोप लगाए।
उनले प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) आफूलाई लक्षित गरेर लागेको दाबी गरे। प्रहरी महानिरीक्षकको कार्यकक्षसँगै रहेको स्थानबाट समेत आफूविरुद्ध साइबर अभियान सञ्चालन भइरहेको उनको आरोप छ।
‘प्रहरीले गरेको बदमासीमा ममाथि हिलो छ्यापेर कोही उम्कन सक्दैन,’ सुनारले भने, ‘सीआईबीसँग दम छ भने मलाई हतकडी लगाएर लैजाओस्।’
सीआईबीले निजी नम्बरबाट फोन गरेर आफ्नो विषयमा सूचना संकलन गरिरहेको र केही प्रहरी अधिकारी आफूलाई फसाउने प्रयासमा लागेको समेत उनले दाबी गरे। यद्यपि यी आरोपबारे सम्बन्धित प्रहरी निकायको प्रतिक्रिया भने सार्वजनिक भएको छैन।
सञ्चारकर्मीले साउदी अरेबियाका लागि राजदूत नियुक्तिका क्रममा १० करोड रुपैयाँ लेनदेन गरेको आरोपबारे प्रश्न गरेपछि सुनारले त्यसलाई अस्वीकार गरे।
दलित आन्दोलनका नाममा रकम उठाएको भन्ने आरोपप्रति पनि उनले आपत्ति जनाए। आफू सामान्य पृष्ठभूमिबाट आएको व्यक्ति भएको उल्लेख गर्दै सुनारले नागरिकता र राहदानीबाहेक आफ्नो नाममा जग्गासमेत नरहेको दाबी गरे।
आफूमाथि करोडौँ रुपैयाँको आर्थिक लेनदेनको आरोप लगाइनु आधारहीन भएको उनको भनाइ थियो।
सुनारले आफूविरुद्ध संसद्मा औपचारिक उजुरी परे सांसद पदको लोगोसमेत फुकालेर छानबिनको सामना गर्न तयार रहेको बताए।
विगतमा प्रहरी नेतृत्वमाथि छानबिन हुँदा प्रहरी महानिरीक्षक निलम्बन हुनुपर्ने माग गरेका सुनारलाई आफूविरुद्ध पनि उजुरी परेपछि त्यही मापदण्ड लागू गर्न तयार छन् कि छैनन् भन्ने प्रश्न गरिएको थियो।
जवाफमा उनले आफू दोषी प्रमाणित भए कारबाही भोग्न तयार रहेको बताए। आफूलाई दोषी ठहरिए सार्वजनिक रूपमा अपमानित गरिए पनि आपत्ति नहुने, तर आफूमाथि आरोप लगाउने प्रहरी नेतृत्वमाथि पनि निष्पक्ष छानबिन हुनुपर्ने उनको माग छ।
राज्य संयन्त्रको प्रयोग गरेर आफूलाई दबाबमा पार्न खोजिएको आरोप लगाउँदै सुनारले जस्तोसुकै परिस्थितिमा पनि म्यादी प्रहरीको पोसाक खरिदसम्बन्धी छानबिनबाट पछि नहट्ने बताए।
उनले उक्त खरिद प्रक्रियामा भएको भनिएको आर्थिक अनियमितताको तथ्य सार्वजनिक गर्ने दाबी गर्दै छानबिनलाई निष्कर्षमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताए।









Facebook Comments