
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले पार्टीको नेतृत्व चयनमा गुटगत प्रभावभन्दा महाधिवेशन प्रतिनिधिको विवेक निर्णायक हुने बताएका छन्।
महाधिवेशनस्थलमा प्रतिनिधिसँग भेटघाट र संवादलाई तीव्र बनाएका पौडेलले महामन्त्री पदमा आफूले स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने बताए। उनले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै समूह वा गुटका आधारमा प्रभावित पार्न नसकिने दाबी गरे।
पौडेलका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधिहरू आफैँ पार्टीका नेता भएकाले उनीहरूले उम्मेदवारको योगदान, विचार र क्षमताका आधारमा निर्णय गर्नेछन्। लामो राजनीतिक अनुभव बोकेर पार्टीको भविष्यबारे निर्णय गर्न आएका प्रतिनिधिले विवेकपूर्ण मतदान गर्ने उनको विश्वास छ।
‘महाधिवेशन प्रतिनिधि आफैँ नेता हुनुहुन्छ। कतिपय साथीहरूले मभन्दा पनि लामो योगदान गर्नुभएको छ। उहाँहरू कांग्रेसको भविष्यबारे निर्णय गर्न आउनुभएको हो,’ पौडेलले भने, ‘त्यसैले गुट बनाएर उहाँहरूलाई प्रभावित पार्ने अवस्था छैन। हामी स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धामा छौँ।’
उनले पार्टीको विधि र विधानअनुसार आफूलाई प्रस्तुत गर्ने बताउँदै महाधिवेशनलाई व्यक्तिगत वा गुटगत प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिए।
पदाधिकारी बढाउनुको कारण प्रतिनिधित्व विस्तार
पौडेलले कांग्रेसमा पदाधिकारी तथा केन्द्रीय समितिको आकार बढाइनु कुनै निश्चित नेताको व्यवस्थापनका लागि नभएको स्पष्ट पारेका छन्।
उनका अनुसार पार्टीका क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधिको संख्या बढ्दै गएपछि त्यसअनुसार केन्द्रीय समितिको आकार पनि विस्तार गरिएको हो। १४औँ महाधिवेशनमा कांग्रेसका करिब ८ लाख ८८ हजार क्रियाशील सदस्य रहेकामा अहिले यो संख्या करिब १० लाख पुगेको उनले बताए।
पौडेलका अनुसार अघिल्लो महाधिवेशनमा करिब ४ हजार ५ सय प्रतिनिधिको अनुपातलाई आधार बनाएर केन्द्रीय समिति गठन गरिएको थियो। अहिले करिब ७ हजार ३ सय प्रतिनिधि पुगेकाले त्यसअनुसार केन्द्रीय समितिको आकार बढाइएको उनको भनाइ छ।
‘यो नेता व्यवस्थापनका लागि गरिएको होइन। प्रतिनिधित्वको दायरा बढेकाले त्यसलाई सम्बोधन गर्न केन्द्रीय समितिको संख्या बढ्नु स्वाभाविक हो,’ पौडेलले बताए।
महिला र समावेशी प्रतिनिधित्वमा जोड
पौडेलले कांग्रेसको नयाँ नेतृत्व संरचनामा महिला तथा अन्य समावेशी समूहको प्रतिनिधित्वलाई पनि प्राथमिकता दिइएको बताए।
उनका अनुसार विगतमा महिलालाई कार्यकारी भूमिकामा पर्याप्त अवसर नदिइएको तथा अन्य समावेशी समूहबाट पनि नेतृत्वमा सहभागिता कमजोर रहेको गुनासोलाई यसपटक सम्बोधन गर्ने प्रयास गरिएको छ।
महाधिवेशनले पार्टीको नेतृत्व मात्र चयन नगरी कांग्रेसको आगामी राजनीतिक दिशा र संगठनात्मक संरचनासमेत तय गर्ने भएकाले प्रतिनिधिहरूले त्यसैअनुसार निर्णय गर्ने पौडेलको भनाइ छ।









Facebook Comments