
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि वर्तमान सभापति गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्। थापाले मंगलबार साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृह पुगेर सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि तोकिएको समयसमेत बढाएको छ। वर्षाका कारण केही आकांक्षी उम्मेदवारी दर्ताबाट छुट्न सक्ने अवस्था देखिएपछि समितिले समय थप गर्दै बेलुकी ७ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरेको हो।
थापासँग सभापतिमा प्रतिस्पर्धाका लागि श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराइसकेका छन् भने किशोरसिंह राठौरले पनि सभापतिमा उठ्ने घोषणा गरेका छन्। राठौरले भने हालसम्म औपचारिक रूपमा उम्मेदवारी दर्ता गरिसकेका छैनन्।
गगनका पूर्वशिक्षक खड्गी पनि सभापतिको दौडमा
सभापतिमा उम्मेदवारी दर्ता गराएका श्यामकृष्ण खड्गी कांग्रेसको केन्द्रीय राजनीतिमा तुलनात्मक रूपमा कम चर्चित नाम हुन्। काठमाडौं क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि रहेका खड्गी तारकेश्वर नगरपालिका–२ का स्थायी बासिन्दा हुन्।
खड्गीका अनुसार उनको राजनीतिक सक्रियता २०४६ सालको जनआन्दोलनबाट सुरु भएको हो। अस्कल क्याम्पसबाट होमराज दाहालको नेतृत्वमा आन्दोलनमा सहभागी भएका उनी त्यसपछि कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहे।
कांग्रेसको स्थानीय संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका खड्गी वडा उपसभापति, वडा सभापतिदेखि काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सभापतिसम्म बने। उनी क्षेत्रीय सभापति दुईपटक निर्वाचित भएको बताउँछन्।
खड्गीको थापासँग भने राजनीतिक सम्बन्धभन्दा पुरानो शैक्षिक सम्बन्धसमेत छ। गगन थापाले अध्ययन गरेको सिद्धार्थ वनस्थली स्कुलमा खड्गी शिक्षक थिए। थापाले कक्षा ९ र १० मा अध्ययन गर्दा आफूले उनलाई पढाएको खड्गीको भनाइ छ। उनी हाल पनि सोही विद्यालयमा अध्यापनरत छन्।
कांग्रेसभित्र विधि, पद्धति र संस्थागत अभ्यास कमजोर बन्दै गएको भन्दै त्यसलाई सुधार गर्न आफूले सभापतिमा उम्मेदवारी दिएको खड्गीले बताएका छन्। पार्टीभित्र अवसरबाट वञ्चित हुन सक्ने नेताहरूको प्रतिनिधिका रूपमा समेत आफ्नो उम्मेदवारीलाई उनले प्रस्तुत गरेका छन्।
विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा आएका राठौर
सभापतिका अर्का आकांक्षी किशोरसिंह राठौर कांग्रेस राजनीतिमा लामो समयदेखि सक्रिय नेता हुन्। २०२६ वैशाख १५ गते सल्यानमा जन्मिएका राठौरको स्थायी बसोबास बर्दियाको राजापुर नगरपालिका–६ मा रहेको छ।
उनको राजनीतिक यात्रा २०४२ सालमा नेपाल विद्यार्थी संघबाट सुरु भएको थियो। त्रिचन्द्र क्याम्पसमा स्ववियु सचिव र सभापतिको जिम्मेवारी सम्हालेका राठौर पछि स्ववियु फोरमका संस्थापक सभापति बने।
विद्यार्थी राजनीतिमै सक्रिय रहँदा उनी २०५३ सालमा नेविसंघको सहमहामन्त्री र २०५९ सालमा केन्द्रीय अध्यक्ष बने। त्यसपछि कांग्रेसको मूल राजनीतिमा प्रवेश गरेका राठौर १२औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएका थिए। १३औँ महाधिवेशनपछि पनि केन्द्रीय सदस्य रहेका उनले सहमहामन्त्रीको जिम्मेवारीसमेत सम्हाले।
तर गगन थापालाई सभापति चयन गरेको विशेष महाधिवेशनपछि राठौर कांग्रेसको केन्द्रीय कार्यसमितिमा रहेनन्।
राठौरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १५औँ महाधिवेशनमा सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। कांग्रेसलाई एकताबद्ध र बलियो बनाउने एजेन्डासहित आफू प्रतिस्पर्धामा आएको उनको भनाइ छ।
थापाका प्रतिस्पर्धीका फरक पृष्ठभूमि
१५औँ महाधिवेशनमा गगन थापासँग सभापतिका लागि प्रतिस्पर्धामा देखिएका खड्गी र राठौरको थापासँगको सम्बन्ध भने फरक प्रकृतिको छ।
खड्गी कुनै समय थापाका शिक्षक थिए। अर्कोतर्फ राठौर र थापा दुवै विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा आएका नेता हुन्। त्रिचन्द्र क्याम्पससँग जोडिएको विद्यार्थी राजनीतिले उनीहरूको राजनीतिक यात्रालाई समेत एउटै पुस्तासँग जोडेको देखिन्छ।
यसरी कांग्रेस सभापतिको निर्वाचनमा थापासँग प्रतिस्पर्धाका लागि मैदानमा देखिएका खड्गी र राठौरका राजनीतिक यात्रा, संगठनात्मक अनुभव र थापासँगका सम्बन्ध फरक छन्। महाधिवेशन अघि बढेसँगै सभापति पदको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।









Facebook Comments