
काठमाडौं — नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। उद्घाटन समारोह दिउँसो २ बजे सुरु हुने कांग्रेसले जनाएको छ।
२००३ सालमा स्थापना भएको कांग्रेसले अहिलेसम्म १४ वटा महाधिवेशन सम्पन्न गरिसकेको छ। यी महाधिवेशनको इतिहास हेर्दा पार्टीको नेतृत्वमा अहिलेसम्म १० जना पुगेका छन्। केही महाधिवेशन नेपालमा भए भने पञ्चायती शासनका कारण कतिपय अधिवेशन भारतमा गर्नुपरेको थियो।
कांग्रेसको १४औँ महाधिवेशनसम्म आइपुग्दा नेतृत्वमा सबैभन्दा लामो समय रहने नेतामध्ये गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा प्रमुख छन्। देउवा लगातार दुई पटक सभापति निर्वाचित भएका थिए।
पहिलो महाधिवेशन : कोलकाता
कांग्रेस स्थापनाको प्रारम्भिक चरणमा पार्टीको नाम ‘नेपाली राष्ट्रिय कांग्रेस’ थियो। २००३ माघ १२ र १३ गते भारतको कोलकातास्थित भवानीपुरमा भएको सम्मेलनलाई कांग्रेसको पहिलो महाधिवेशन मानिन्छ।
उक्त अधिवेशनले टंकप्रसाद आचार्यलाई सभापति चयन गरेको थियो। कार्यसमितिको कार्यवाहक सभापतिको जिम्मेवारी भने बीपी कोइरालाले सम्हालेका थिए।
दोस्रो : जोगबनी
पहिलो महाधिवेशन भएको केही समयमै पार्टीको दोस्रो सम्मेलन भयो। २००३ चैत २७ र २८ गते भारतको जोगबनीमा भएको प्रतिनिधि सम्मेलनले बीपी कोइराला पक्राउ परेपछि मातृकाप्रसाद कोइरालालाई कार्यकारी सभापति बनाएको थियो।
तेस्रो र चौथो : दरभंगा र कोलकाता
२००५ फागुन १८ देखि २० गतेसम्म भारतको दरभंगामा तेस्रो अधिवेशन भयो। त्यसबाट मातृकाप्रसाद कोइराला सभापति बने।
२००६ चैत २७ र २८ गते कोलकाताको टाइगर सिनेमा हलमा चौथो महाधिवेशन भयो। यही अधिवेशनबाट पार्टीको नाम ‘नेपाली कांग्रेस’ राखियो र मातृकाप्रसाद नै सभापतिमा कायम रहे।
पाँचौँ : जनकपुर
नेपाली कांग्रेस नाममा पहिलो महाधिवेशन जनकपुरमा भयो। २००९ जेठ १० देखि १२ गतेसम्म भएको पाँचौँ महाधिवेशनले बीपी कोइरालालाई सभापति चयन गर्यो।
छैटौँ : वीरगञ्ज
२०१२ मंसिर १२ देखि १४ गतेसम्म वीरगञ्जमा भएको छैटौँ महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धा भयो। गणेशमान सिंहलाई पछि पार्दै सुवर्णशमशेर राणा सभापतिमा निर्वाचित भए।
विशेष महाधिवेशन र सातौँ महाधिवेशन
२०१४ जेठ १० र ११ गते विराटनगरमा भएको विशेष महाधिवेशनले बीपी कोइरालालाई पुनः सभापतिको जिम्मेवारी दियो।
त्यसपछि २०१७ वैशाख २५ देखि ३१ गतेसम्म काठमाडौंको महाराजगञ्जस्थित लक्ष्मी निवासमा सातौँ महाधिवेशन भयो। सभापतिका लागि बीपी कोइराला र भूदेव राईबीच प्रतिस्पर्धा भएकोमा बीपी विजयी भए।
तर त्यही वर्ष पुस १ गते राजा महेन्द्रले राजनीतिक ‘कु’ गरेपछि बीपीसहित कांग्रेसका नेताहरू पक्राउ परे। पञ्चायती व्यवस्था सुरु भएपछि नेपालमा महाधिवेशन गर्न कठिन भयो।
भारतमा भएको सम्मेलनले सुवर्णशमशेर राणालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो। पछि बीपीले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
आठौँ : झापा
बहुदलीय राजनीतिक व्यवस्था पुनःस्थापनाको प्रक्रियापछि २०४८ फागुन १ देखि ३ गतेसम्म झापामा आठौँ महाधिवेशन भयो। त्यसबाट कृष्णप्रसाद भट्टराई निर्विरोध सभापति बने।
नवौँ : काठमाडौं
२०५३ वैशाख २६ देखि २९ गतेसम्म काठमाडौंमा भएको नवौँ महाधिवेशनमा सभापतिका लागि चिरञ्जीवी वाग्ले, रामहरि जोशी र गिरिजाप्रसाद कोइरालाबीच प्रतिस्पर्धा भयो।
वाग्ले र जोशीलाई पराजित गर्दै गिरिजाप्रसाद कोइराला सभापति निर्वाचित भए।
दसौँ : पोखरा
२०५७ माघ ७ देखि ९ गतेसम्म पोखरामा भएको दसौँ महाधिवेशनमा पनि तीन जना सभापतिका उम्मेदवार थिए। गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी प्रतिस्पर्धामा उत्रिए।
देउवा र जोशीलाई पछि पार्दै कोइराला पुनः सभापति निर्वाचित भए।
विभाजनपछि दुई कांग्रेस
२०५९ सालमा कांग्रेस विभाजित भयो। शेरबहादुर देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेपछि दुई कांग्रेसले छुट्टाछुट्टै महाधिवेशन गरे।
संस्थापन पक्षले २०६२ भदौ १४ देखि १७ गतेसम्म सानेपामा ११औँ महाधिवेशन आयोजना गर्यो। गिरिजाप्रसाद कोइराला र नरहरि आचार्यबीच प्रतिस्पर्धा हुँदा कोइराला सभापति बने।
यता कांग्रेस (प्रजातान्त्रिक) ले २०६१ माघ १० देखि १३ गतेसम्म ललितपुरको शंखमुलमा महाधिवेशन गर्यो र देउवा नै सभापति निर्वाचित भए।
२०६४ असोजमा दुवै कांग्रेसबीच एकीकरण भएपछि पुनः एउटै पार्टीका रूपमा महाधिवेशनको प्रक्रिया अघि बढ्यो।
१२औँ : काठमाडौं
एकीकृत कांग्रेसको १२औँ महाधिवेशन २०६७ असोज १ देखि ७ गतेसम्म काठमाडौंमा भयो। सभापतिका लागि सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङबीच प्रतिस्पर्धा भयो।
देउवा र तामाङलाई पराजित गर्दै सुशील कोइराला सभापति बने।
१३औँ : देउवाको पुनरागमन
१३औँ महाधिवेशनको प्रक्रिया चलिरहेकै बेला सभापति सुशील कोइरालाको निधन भयो। त्यसपछि रामचन्द्र पौडेलले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाले।
२०७२ फागुन २० देखि २३ गतेसम्म भएको १३औँ महाधिवेशनमा देउवा, पौडेल र कृष्णप्रसाद सिटौला सभापतिको प्रतिस्पर्धामा थिए।
पहिलो चरणमा कसैले पनि आवश्यक बहुमत प्राप्त गर्न नसकेपछि देउवा र पौडेलबीच दोस्रो चरणमा प्रतिस्पर्धा भयो। पौडेललाई पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भए।
१४औँ : फेरि देउवा
२०७८ मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा भएको १४औँ महाधिवेशनमा सभापतिका लागि देउवासहित डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए।
पहिलो चरणमा कुनै उम्मेदवारले ५० प्रतिशत मत नकटाएपछि देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भयो। शेखरलाई पराजित गर्दै देउवा दोस्रो पटक सभापति निर्वाचित भए।
विशेष महाधिवेशनपछि नयाँ नेतृत्व
१४औँ महाधिवेशनपछि कांग्रेसभित्र नेतृत्वलाई लिएर विवाद बढ्यो। तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा २०७९ पुस २७ देखि ३० गतेसम्म विशेष महाधिवेशन आयोजना गरियो।
विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। देउवासहितका नेताहरूले भने उक्त महाधिवेशनलाई स्वीकार गरेका छैनन्। यस विषयमा निर्वाचन आयोग र अदालतसम्म विवाद पुगेको छ।
विशेष महाधिवेशनसम्बन्धी विषयमा सर्वोच्च अदालतमा पुनरवलोकनको प्रक्रिया समेत चलिरहेको छ।
१५औँ महाधिवेशनको संघारमा
कांग्रेस आज १५औँ महाधिवेशनमा प्रवेश गर्दैछ। अघिल्ला महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धा गरेका प्रमुख नेताहरूको राजनीतिक भूमिकामा समेत यसपटक परिवर्तन आएको छ।
कांग्रेसको आठ दशक लामो यात्रामा नेतृत्व परिवर्तनसँगै पार्टीले विभाजन, एकीकरण, पञ्चायती प्रतिबन्ध, लोकतान्त्रिक आन्दोलन र गणतन्त्र स्थापनासम्मका अनेक राजनीतिक चरण पार गरेको छ।
अब १५औँ महाधिवेशनले कांग्रेसको आगामी नेतृत्व र राजनीतिक दिशामात्र होइन, पुरानो विरासत र नयाँ पुस्ताबीचको सम्बन्धलाई समेत कसरी परिभाषित गर्छ भन्ने विषय राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।









Facebook Comments