काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको खुलामञ्चमा सम्पन्न भएको छ। उद्घाटन समारोहमा कांग्रेससहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्दै मुलुकको समसामयिक राजनीतिक अवस्था र आगामी राजनीतिक दिशाबारे धारणा राखे।

उद्घाटन सत्रको अन्तिमतिर सम्बोधन गरेका कांग्रेस सभापति गगनकुमार थापाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको अनुपस्थितिलाई समेत प्रसंग बनाए। थापाले देउवा उद्घाटन समारोहमा आउने अपेक्षासहित उनका लागि कुर्सी राखिएको भए पनि उनी उपस्थित नभएको बताए। ‘यहाँ हामीले शेरबहादुर दाइका लागि कुर्सी राखेका थियौं। उहाँले आएर उद्घाटन गर्नुहुन्छ भन्ने अपेक्षा थियो,’ थापाले भने।

ad

देउवालाई सम्मान गर्ने विषय उनको अगाडि झुकेर वा औपचारिक सम्मान प्रदर्शन गरेर मात्र पूरा नहुने थापाको भनाइ थियो। बरु देउवाले निर्माण गरेको राजनीतिक विरासत र कांग्रेसलाई आगामी दिनमा कति बलियो बनाइन्छ भन्ने कुराले सम्मानको अर्थ राख्ने उनले बताए।

‘शेरबहादुर देउवालाई सम्मान गर्ने भनेको उहाँको ढोकामा कतिपटक सलामी दियो भनेर होइन, उहाँले बनाएको पार्टी कति अग्लो बनायो भनेर हुन्छ,’ थापाले भने। थापाले मुलुकका जटिल समस्यालाई सहज रूपमा लिएर तत्काल समाधान खोज्न सकिन्छ भन्ने सोच गलत हुने बताए।

नेपालका समस्या आन्तरिक कारणबाट मात्रै सिर्जित नभएको उल्लेख गर्दै उनले बदलिँदो विश्व राजनीति र अन्तर्राष्ट्रिय घटनाक्रमले पनि नेपालको अर्थतन्त्र, सुरक्षा र राजनीतिमा प्रभाव पारिरहेको बताए।

‘हाम्रा समस्याहरूलाई हल्का ढंगले—फेरि हिजो कसैले गर्दै गरेन, आज म आएको छु, छुमन्तर जसरी हल हुन्छ भनेर समस्याको हल पनि हुँदैन,’ थापाले भने। विश्व राजनीतिक घटनाक्रमको प्रभावबाट नेपाल अलग रहन नसक्ने उनको भनाइ थियो।

रुस–युक्रेन युद्धले नेपाललाई असर नगरेको हो कि भन्दै प्रश्न गरेका थापाले मध्यपूर्वमा विकसित भइरहेका घटनाक्रमको प्रभावबाट समेत नेपाल अछुतो रहन नसक्ने बताए। ‘नेपालको समस्या नेपालको कारणले मात्रै पनि छैन। विश्व राजनीतिले हामीलाई कसरी गाँजेको छ, हामीले हेर्नुपर्दैन?’ उनले प्रश्न गरे।

उनले अन्तर्राष्ट्रिय शक्ति सम्बन्ध, युद्ध र भू–राजनीतिक तनावले नेपालजस्ता मुलुकमा पार्न सक्ने प्रभावलाई ध्यानमा राखेर राष्ट्रिय नीति निर्माण गर्नुपर्ने संकेत गरे। थापाले देशभित्रका राजनीतिक समस्या समाधान गर्न नेतृत्वमा दृढता आवश्यक भए पनि विश्व परिवेशलाई बेवास्ता गरेर मात्रै मुलुकका चुनौती सामना गर्न नसकिने बताए।