बर्दिया । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनका लागि बर्दिया क्षेत्र नम्बर २ मा केन्द्रीय तथा क्षेत्रीय प्रतिनिधि चयन प्रक्रिया अघि बढेको छ। आइतबारदेखि प्रतिनिधिका लागि मनोनयनपत्र दर्ता सुरु गरिएको हो।

निर्वाचन अधिकृतका अनुसार आइतबार दिउँसो ३ः३० बजेदेखि ६ः३० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ। क्षेत्र नम्बर २ अन्तर्गत ‘क’ र ‘ख’ दुवैको मतदान मधुवन नगरपालिका–४ स्थित कभर्डहलमा हुने तय गरिएको छ।

ad

कांग्रेस नेता किशोरसिंह राठौरको निर्वाचन क्षेत्रसमेत रहेको बर्दिया–२ बाट ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन्।

क्षेत्रीय निर्वाचन अधिकृत गोपाल पोखरेलले उम्मेदवारको संख्या यकिन भएपछि निर्वाचनको बाँकी तालिका सार्वजनिक गरिने जानकारी दिए।

‘कति जनाको मनोनयन दर्ता हुन्छ भन्ने आधारमा निर्वाचनको थप तालिका तय हुन्छ। केन्द्रीय र क्षेत्रीय प्रतिनिधिको निर्वाचन एकैपटक हुनेछ,’ पोखरेलले बताए।

यस क्षेत्रअन्तर्गत शनिबार सम्पन्न प्रदेश प्रतिनिधिको निर्वाचनको मतगणना भने आइतबार बिहानदेखि जारी छ।

निर्वाचन स्थलको विषयमा विवाद भएपछि प्रदेश प्रतिनिधिको निर्वाचन निर्धारित समयभन्दा दुई दिन ढिला भएको थियो। क्षेत्र नम्बर २ अन्तर्गत निर्वाचन मधुवन नगरपालिकाको एक स्थानमा मात्रै गर्ने तयारी भएपछि राजापुरलाई पनि मतदानस्थल बनाउनुपर्ने माग उठेको थियो।

मतदानस्थललाई लिएर कांग्रेस कार्यकर्ताबीच विवाद भएपछि शनिबार मधुवन र राजापुर दुवै स्थानमा प्रदेश कार्यसमितिका लागि निर्वाचन गरिएको थियो।

तर, प्रतिनिधि छनोटको प्रक्रिया भने त्यसैअनुसार अघि बढ्न नसकेको निर्वाचन अधिकारीहरूले बताएका छन्। क्षेत्र नम्बर १ ‘ख’ का निर्वाचन अधिकृत राजेन्द्र यादवका अनुसार त्यहाँ प्रदेश कार्यसमितिको निर्वाचन सम्पन्न भए पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचन रोकिएको छ।

बर्दियाका विभिन्न क्षेत्रमा प्रदेश तथा केन्द्रीय प्रतिनिधि छनोटको प्रक्रिया अघि बढेसँगै कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रतिनिधि चयनको गतिविधि तीव्र बनेको छ।