काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र राजनीतिक नेतृत्वमा एउटै अनुहार बारम्बार दोहोरिने प्रवृत्तिले जनतामा राजनीतिक दल र नेताप्रति निराशा बढाएको बताएका छन्।

कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले लामो समयदेखि प्रधानमन्त्री, मन्त्री र पार्टी नेतृत्वमा उही व्यक्तिहरू दोहोरिइरहने अवस्थाले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको टिप्पणी गरे।

ad

उनका अनुसार नेतृत्व परिवर्तनको अपेक्षा भए पनि पदमा पुगेका व्यक्तिहरू पुनः त्यही पदमा फर्किन खोज्ने प्रवृत्तिले जनतामा सबै राजनीतिक दल र नेता उस्तै रहेको धारणा विकास भएको हो।

‘म्युजिकल चियरजस्तो बनेको थियो। प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने, सत्ता नछोड्ने,’ थापाले भने।

यस्तो प्रवृत्तिले राजनीतिक दलहरूप्रति मात्रै नभई समग्र राजनीतिक व्यवस्थाप्रति नै असन्तुष्टि बढाएको उनको भनाइ थियो।

असन्तुष्टि भुसको आगोझैँ फैलियो
थापाले लामो समयदेखि समाजमा जम्मा हुँदै गएको राजनीतिक असन्तुष्टि अन्ततः भदौ २३ र २४ गतेका घटनाका रूपमा प्रकट भएको बताए।

राजनीतिक नेतृत्वले जनतामा बढिरहेको असन्तुष्टि समयमै पहिचान गर्न नसकेको उनको भनाइ थियो।

‘यसले सबै पार्टी र नेता सबै एउटै हुन्, सबै खराब हुन् भन्ने सन्देश गयो,’ उनले भने, ‘यो भुसको आगोले सबैलाई एकैपटक खायो।’

उनले सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनका विभिन्न क्षेत्रमा राजनीतिक प्रभाव अत्यधिक बढेको बताए। सामान्य सामाजिक विषयसमेत राजनीतिक दृष्टिकोणबाट हेर्ने प्रवृत्ति बढ्दै गएको उनको भनाइ थियो।

‘फेसबुकदेखि ट्विटरदेखि सबै क्षेत्रमा राजनीति हुन्छ। फेरि जनता हाइपर पोलिटिक्सतिर गयो। जे भए पनि राजनीतिको आँखाले हेर्न थालियो,’ थापाले भने।

दुईतिहाइको सरकारसँग पनि जनताको दूरी बढ्यो
थापाले दुई ठूला दलको सहकार्यमा बनेको दुईतिहाइ बहुमतको सरकारले समेत जनतासँग पर्याप्त संवाद कायम गर्न नसकेको बताए।

जनताको बदलिँदो मनोविज्ञान र असन्तुष्टिलाई राजनीतिक नेतृत्वले समयमै बुझ्न नसक्दा भदौ २३ र २४ गतेको परिस्थिति सिर्जना भएको उनको दाबी थियो।

उनले उक्त घटनाबाट कांग्रेससहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता समेत प्रभावित भएको बताए।

‘यहीँ हामीले बुझेनौँ। यसले कांग्रेस र अन्य पार्टीका नेता र कार्यकर्ता पनि भिक्टिम भए। तर पनि हामी सम्हालिनुपर्छ भनेर विशेष महाधिवेशनमा गयौँ,’ उनले भने।

निर्वाचनमा पराजयपछि कांग्रेस नयाँ चरणमा
विशेष महाधिवेशनपछि कांग्रेस निर्वाचनमा सहभागी भए पनि अपेक्षित परिणाम हासिल गर्न नसकेको थापाले स्वीकार गरे।

कांग्रेसले विगतमा विभिन्न निर्वाचनमा हार र जित दुवै व्यहोर्दै आएको उल्लेख गर्दै उनले अहिले पार्टी १५औँ महाधिवेशनमार्फत नयाँ चरणमा प्रवेश गरेको बताए।

‘त्यसपछि चुनावमा गयौँ, तर हाम्रो पक्षमा आएन। कांग्रेसले धेरै चुनावमा हार्ने र जित्ने गरेको छ। अब नयाँ महाधिवेशनमा अहिले होमिएका छौँ,’ थापाले भने।

महाधिवेशनलाई रूपान्तरणको अवसर बनाउनुपर्ने
थापाले १५औँ महाधिवेशनलाई कांग्रेसले विगतका कमजोरीको समीक्षा गर्दै नयाँ राजनीतिक दिशातर्फ अघि बढ्ने अवसरका रूपमा लिनुपर्ने बताए।

जनतामा बढेको राजनीतिक वितृष्णा र दलहरूप्रतिको अविश्वास कम गर्न कांग्रेसले आफ्नो नेतृत्व प्रणाली, राजनीतिक व्यवहार र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो।

उनले नयाँ पुस्ताको अपेक्षा, नागरिकको प्रश्न र बदलिँदो सामाजिक मनोविज्ञानलाई आत्मसात् गर्दै कांग्रेसले आफूलाई पुनः परिभाषित गर्नुपर्नेमा जोड दिए।