काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक जीवनमा पद र जिम्मेवारी समयअनुसार परिवर्तन भए पनि व्यक्तिले समाज र राष्ट्रका लागि गरेको योगदान लामो समयसम्म स्मरणमा रहने बताएकी छन्।

एमाले दोलखा जिल्ला कमिटीले आइतबार आयोजना गरेको ‘आनन्द पोखरेल : विचार, संघर्ष र नेतृत्व’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै भण्डारीले राजनीतिक व्यक्तित्वको मूल्याङ्कन पद र पदावधिबाट मात्र गर्न नहुने धारणा राखिन्।

ad

उनले सार्वजनिक जीवनमा व्यक्तिले प्रदर्शन गरेको आचरण, जनताप्रतिको उत्तरदायित्व र उसले स्थापित गर्न खोजेका राजनीतिक तथा सामाजिक मूल्यलाई पनि मूल्याङ्कनको आधार बनाउनुपर्ने बताइन्।

‘राजनीतिमा पद र जिम्मेवारी परिवर्तनशील हुन्छन्, तर सार्वजनिक जीवनमा व्यक्तिले देखाएको आचरण, जनताप्रतिको उत्तरदायित्व र उसले स्थापित गर्न खोजेका मूल्यहरू दीर्घकालसम्म स्मरणमा रहन्छन्,’ भण्डारीले भनिन्।

उनका अनुसार राजनीति केवल कुनै पद हासिल गर्ने माध्यमका रूपमा बुझिनु हुँदैन। सार्वजनिक जीवनमा सक्रिय व्यक्तिको राजनीतिक यात्रा र अनुभवबाट राजनीति समाज तथा राष्ट्रप्रतिको जिम्मेवारी पनि हो भन्ने कुरा स्थापित हुने उनले बताइन्।

नयाँ पुस्ताको ऊर्जा र पुरानो पुस्ताको अनुभव जोड्नुपर्ने
भण्डारीले राजनीतिमा पुस्तान्तरणसँगै पुस्ताबीचको संवादलाई पनि महत्व दिनुपर्ने बताइन्।

पुरानो पुस्ताले हासिल गरेको अनुभव र नयाँ पुस्तामा रहेको ऊर्जा एकअर्काका प्रतिस्पर्धी वा विकल्प नभएको उनको भनाइ थियो। दुवै पक्षको अनुभव र क्षमतालाई संयोजन गरेर अघि बढ्दा राजनीतिक तथा सामाजिक क्षेत्र थप प्रभावकारी बन्न सक्ने उनले बताइन्।

उनले नयाँ पुस्ताले पुरानो पुस्ताको अनुभवबाट सिक्ने र पुरानो पुस्ताले नयाँ पुस्ताको ऊर्जा तथा बदलिँदो सोचलाई आत्मसात् गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन्।

भण्डारीले आनन्द पोखरेलको राजनीतिक यात्रा र योगदानलाई पुस्तकमार्फत दस्तावेजीकरण गरिएको प्रसङ्ग उल्लेख गर्दै सार्वजनिक जीवनमा सक्रिय व्यक्तिका अनुभव र संघर्षलाई अभिलेखीकरण गर्नु महत्वपूर्ण हुने बताइन्।