काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको नयाँ नेतृत्व, पुस्तान्तरण र शान्ति प्रक्रियाका बाँकी कामबारे धारणा राखेका छन्।

समारोहमा सम्बोधन गर्दै लामिछानेले कांग्रेसको नयाँ नेतृत्वलाई पूर्वसभापति शेरबहादुर देउवाको प्रभाव र अलमलबाट बाहिर निस्केर पार्टी रूपान्तरणको स्पष्ट बाटो तय गर्न सुझाव दिए।

ad

उनले कांग्रेसको ऐतिहासिक योगदानको सम्मान गर्दै बदलिँदो राजनीतिक परिस्थिति र नयाँ पुस्ताको अपेक्षाअनुसार पार्टीले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने बताए।

‘शेरबहादुर देउवालाई फकाउनुभन्दा छोडिदिँदा नै राम्रो हुन्छ,’ लामिछानेले भने, ‘म कांग्रेसका साथीहरूलाई यही सुझाव दिन चाहन्छु।’

कांग्रेसको इतिहासलाई पार्टीको महत्वपूर्ण राजनीतिक सम्पत्तिका रूपमा व्याख्या गर्दै लामिछानेले विगतको योगदानलाई आधार बनाएर भविष्यको नयाँ यात्रा तय गर्नुपर्ने बताए। पुरानो शैली र नेतृत्वको प्रभावमा सीमित नरही नयाँ पुस्ताले पार्टीलाई अघि बढाउनुपर्ने उनको धारणा थियो।

प्रचण्डले सम्झिए गिरिजाप्रसाद, देउवाको नाम लिएनन्
उही मञ्चबाट सम्बोधन गरेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले भने कांग्रेसका पूर्वसभापति तथा शान्ति प्रक्रियाका प्रमुख हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालालाई स्मरण गरे।

प्रचण्डले वर्तमान संविधान, समावेशी लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धि भएको बताए। तर यी उपलब्धि अहिले चुनौतीमा परेको उनको दाबी थियो।

‘अहिले देश अप्ठेरोमा छ, गणतन्त्र अप्ठेरोमा छ। हामीले बनाएको संविधान नै अप्ठेरोमा छ,’ प्रचण्डले भने, ‘सरकारका गतिविधिले परिस्थिति थप जटिलतातर्फ जाने हो कि भन्ने चिन्ता छ।’

शान्ति सम्झौताका केही काम अझै पूरा हुन बाँकी रहेको उल्लेख गर्दै उनले आफू त्यस सम्झौताका जीवित हस्ताक्षरकर्तामध्ये एक रहेको बताए।

गिरिजाप्रसाद कोइरालाको निधन भइसकेको स्मरण गर्दै प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम गगन थापाको नेतृत्वमा अघि बढ्ने विश्वास व्यक्त गरे।

‘गिरिजाप्रसाद कोइराला हुनुहुन्न । जीवित हस्ताक्षरकर्ता म छु,’ उनले भने, ‘मैले तपाईंको नेतृत्वमा बाँकी कुरा टुंगोमा पुग्नेछ भनेर विश्वास लिएको छु।’

देउवाको नाम नलिए पनि सबै पुस्तालाई समेट्न आग्रह
प्रचण्डले कांग्रेसभित्रको पुस्तान्तरणलाई पुरानो पुस्ताको बहिष्कारका रूपमा लिन नहुने बताए। उनले ‘बुढाहरू सबै खराब’ भन्ने सोच लोकतान्त्रिक राजनीतिक संस्कारअनुकूल नहुने धारणा राखे।

कांग्रेस सभापति गगन थापालाई छुटेका नेता तथा समूहलाई समेत समेटेर अघि बढ्न सुझाव दिँदै उनले सबै पुस्तालाई एकसाथ लिएर हिँड्नुपर्ने बताए।

‘अझै पनि शुभकामना भन्छु, बाँकी रहेका साथीहरूलाई समेट्ने तपाईंको प्रयत्न सफल होस्,’ प्रचण्डले भने।

सम्बोधनका क्रममा उनले देउवाको नाम भने लिएनन्। यद्यपि, लामिछानेले नयाँ कांग्रेस नेतृत्वलाई देउवाको प्रभावबाट बाहिर निस्कन दिएको सुझाव र प्रचण्डले सबै पुस्तालाई समेटेर अघि बढ्न गरेको आग्रह एउटै मञ्चबाट सार्वजनिक भयो।

गगन र रविबाट शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने विश्वास
प्रचण्डले आफू नेतृत्वको सरकारमा मन्त्रीका रूपमा काम गरेका गगन थापा र रवि लामिछाने अहिले आ–आफ्ना दलको नेतृत्वमा पुगेको उल्लेख गरे।

शान्ति प्रक्रियाका बाँकी विषय टुंग्याउन आफूले चाहेर मात्र सम्भव नहुने भन्दै उनले पछिल्लो राजनीतिक अवस्थामा नयाँ नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताए।

उनले चुनावी परिणामका कारण वामपन्थी शक्तिको राजनीतिक प्रभाव खुम्चिएको र त्यसले आफूलाई शान्ति प्रक्रियाका बाँकी काम कार्यान्वयन गर्न कठिनाइ भएको संकेत गरे।

प्रचण्डले गगन र रवि दुवैसँग आफ्नो राजनीतिक सम्बन्ध र सहकार्यको स्मरण गर्दै नयाँ पुस्ताका नेताहरूले मुलुकको लोकतान्त्रिक व्यवस्था र शान्ति प्रक्रियालाई अघि बढाउने अपेक्षा व्यक्त गरे।