
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी नेतृत्वमा पुस्तान्तरणको नयाँ अध्याय सुरु गरेको बताएका छन्। कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रचण्डले थापालाई बधाई दिँदै अब पार्टी नेतृत्वमा मात्र सीमित नभई राष्ट्रिय नेतृत्वको भूमिकातर्फ अघि बढ्न आग्रह गरे।
प्रचण्डले थापामा नेतृत्व क्षमता रहेको आफूले यसअघि नै देखेको उल्लेख गरे। आफू प्रधानमन्त्री रहेका बेला थापा स्वास्थ्य मन्त्रीका रूपमा सरकारमा सहभागी भएको स्मरण गर्दै उनले त्यतिबेलादेखि नै थापाको राजनीतिक सम्भावनाबारे आफू जानकार रहेको बताए। ‘गगनजीलाई बधाई छ। उहाँमा नेतृत्व गर्ने क्षमता छ। अन्ततः देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ, आज त्यही देखिरहेको छु,’ प्रचण्डले भने।
कांग्रेसको नेतृत्वमा थापाको आगमनलाई प्रचण्डले पार्टीभित्रको परम्परागत निरन्तरतामा आएको परिवर्तनका रूपमा व्याख्या गरे। वर्तमान राजनीतिक परिस्थितिका बीच नयाँ पुस्ताको नेतृत्व स्थापित हुनु आफैंमा महत्वपूर्ण परिवर्तन भएको उनको भनाइ थियो। ‘यो क्रमभंग हो। निरन्तरतामा क्रमभंग गरेर तपाईं पार्टीको नेतृत्वमा आउनुभएको छ,’ प्रचण्डले थापालाई भने।
उनले कांग्रेसभित्र अझै समेटिन बाँकी रहेका नेता तथा समूहलाई पनि साथमा लिएर अघि बढ्न थापालाई सुझाव दिए। पार्टीलाई थप एकताबद्ध बनाउन नयाँ नेतृत्वले सबै पक्षलाई समेट्ने प्रयास गर्नुपर्ने उनको धारणा थियो।
प्रचण्डले थापाले कांग्रेसको नेतृत्व सम्हालेपछि अब राष्ट्रिय राजनीतिको नेतृत्वदायी भूमिकातर्फ अघि बढ्नुपर्ने बताए।
देशको नेतृत्व गर्ने यात्रामा आफूहरूको सहयोग रहने संकेत गर्दै उनले थापालाई सहकार्यका लागि तयार रहेको बताए। ‘अहिले तपाईं देशको नेतृत्व गर्ने बाटोमा हिँड्नु होला, हामी साथ दिन तयार छौँ,’ प्रचण्डले भने।
प्रचण्डले नेपालमा स्थापित लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रमुख राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताए। गणतन्त्र र लोकतन्त्रसम्बन्धी चुनौतीप्रति राजनीतिक दलहरू सजग रहनुपर्ने उल्लेख गर्दै उनले शान्ति प्रक्रियाका बाँकी काम पनि टुंगोमा पुर्याउनुपर्नेमा जोड दिए।
शान्ति सम्झौताका केही विषय अझै निष्कर्षमा पुग्न बाँकी रहेको उल्लेख गर्दै प्रचण्डले ती विषय लामो समयसम्म अनिर्णीत रहे मुलुकमा पुनः द्वन्द्वको जोखिम बढ्न सक्ने चेतावनी दिए। ‘शान्ति सम्झौताका केही कुरा अझै टुंग्याउन बाँकी छ। यो टुंगिएन भने देश फेरि अर्को द्वन्द्वमा जान सक्छ। यो पनि गगन थापाले पूरा गर्नुपर्नेछ,’ उनले भने।
प्रचण्डले मुलुकको आर्थिक विकास र समृद्धिका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताए।
नयाँ कांग्रेस नेतृत्वले देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले राजनीतिक शक्तिहरू मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले राष्ट्रिय आवश्यकता र साझा मुद्दामा दलहरूबीच सहकार्य कायम राख्दै समृद्ध नेपाल निर्माणको लक्ष्यतर्फ अघि बढ्नुपर्ने धारणा राखे।









Facebook Comments