
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रमा नागरिकका प्रश्न, असहमति र विचारले स्थान पाउने खुला वातावरण आवश्यक रहेको बताएका छन्।
कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले संसद् र राजनीतिक दलभित्र पर्याप्त खुलापन नहुँदा देशलाई खुला संवादका थलो आवश्यक परेको बताएका हुन्।
दश वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना हुन लागेको उल्लेख गर्दै उनले खुलामञ्चलाई काठमाडौंको एउटा खुला स्थानका रूपमा मात्र बुझ्न नहुने बताए। नेपाली राजनीतिक आन्दोलनमा यसको ऐतिहासिक भूमिका रहेको भन्दै थापाले यही ठाउँबाट विभिन्न राजनीतिक दल र नेताले आफ्ना राजनीतिक धारणा तथा अभियान अघि बढाएको स्मरण गरे।
बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालगायत नेताले खुलामञ्चबाट राजनीतिक सम्बोधन गरेको उल्लेख गर्दै उनले फरक विचार र मतबीच संवाद गर्ने वातावरण निर्माणमा खुलामञ्चको भूमिका महत्वपूर्ण रहेको बताए। ‘खुलामञ्चले मतभेदलाई एकै ठाउँमा राख्न सहयोग गर्छ,’ थापाले भने।
थापाले देशभर खुला संवादका लागि यस्ता सार्वजनिक थलो आवश्यक रहेको बताए। तर त्यसअघि राज्यको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र संसद्बाटै खुलापनको सुरुवात हुनुपर्ने उनको धारणा थियो।
उनले जनताका प्रश्न र सरोकार सुन्ने तथा त्यसमा जवाफ दिने जिम्मेवारी सरकारको रहेको बताए। संसद् जनताको आवाज प्रतिनिधित्व गर्ने प्रमुख संस्था भएकाले त्यहाँ खुला बहस र प्रधानमन्त्रीको जवाफदेहिता सुनिश्चित हुनुपर्ने उनको भनाइ थियो। ‘संसद अहिले खुला छैन। जनताका कुरा प्रधानमन्त्रीले नसुनेसम्म संसद् खुला हुँदैन,’ थापाले भने।
लोकतन्त्रमा सत्तामा रहेका व्यक्तिले जनताको प्रश्नबाट टाढा रहन नहुने भन्दै उनले राज्य सञ्चालनमा संवाद र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने बताए। कांग्रेस सभापति थापाले राजनीतिक दलको आन्तरिक अभ्यास पनि लोकतान्त्रिक हुनुपर्नेमा जोड दिए।
नेतृत्वमाथि प्रश्न उठाउने, फरक धारणा राख्ने र आलोचना गर्ने अधिकार पार्टी सदस्यलाई सुरक्षित हुनुपर्ने उनको भनाइ थियो। प्रश्न उठाएकै कारण पार्टी सदस्यता गुमाउने अवस्था अन्त्य गर्नुपर्ने उनले बताए। ‘पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ थापाले भने।
उनले लोकतन्त्रलाई राजनीतिक दल बाहिरको व्यवस्थाका रूपमा मात्र बुझ्न नहुने बताए। पार्टीको आन्तरिक संरचना, निर्णय प्रक्रिया र नेतृत्वसँगको संवादमा समेत लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्ने उनको धारणा थियो।
थापाले पहाडदेखि तराईसम्म र भौतिक सार्वजनिक स्थलदेखि विद्युतीय माध्यमसम्म नागरिकले आफ्ना विचार राख्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताए। नागरिकले नेतृत्वलाई प्रश्न गर्न, असहमति व्यक्त गर्न र सार्वजनिक नीतिबारे बहस गर्न पाउने संरचना देशभर विस्तार गर्नुपर्ने उनको भनाइ थियो।
दश वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन हुनु पनि सार्वजनिक संवाद र जनतासँग राजनीतिक दलको सम्बन्धलाई पुनः जोड्ने अवसर भएको थापाले बताए। ‘संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ उनले भने।
उनका अनुसार खुलामञ्चलाई केवल राजनीतिक सभा आयोजना गर्ने स्थानका रूपमा नभई प्रश्न, बहस, असहमति र विचार आदानप्रदान गर्ने लोकतान्त्रिक थलोका रूपमा विकास गर्न आवश्यक छ।









Facebook Comments