
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको संरक्षणका लागि पार्टीलाई संघर्षको तयारीमा जुट्न निर्देशन दिएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले संसद् र सडक दुवै माध्यमबाट शान्तिपूर्ण राजनीतिक संघर्षलाई अघि बढाउनुपर्ने बताएका हुन्।
एमाले प्रमुख सचेतक ऐन महरका अनुसार ओलीले लोकतन्त्र र संविधानको रक्षाका लागि ‘सदन’ र ‘सडक’लाई संघर्षका दुई महत्वपूर्ण मोर्चाका रूपमा प्रयोग गर्नुपर्ने बताएका थिए।
बैठकमा ओलीले संसद्मा एमालेको संख्यात्मक उपस्थिति तुलनात्मक रूपमा सीमित भए पनि संविधान निर्माण र लोकतान्त्रिक व्यवस्थाको स्थापनामा पार्टीले खेलेको भूमिकाका कारण यसको संरक्षणको जिम्मेवारी पनि महत्वपूर्ण रहेको धारणा राखेका थिए।
सांसदलाई तयारीसहित प्रस्तुत हुन निर्देशन
ओलीले एमालेका सांसदहरूलाई संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न विषयगत अध्ययन र तयारीमा विशेष ध्यान दिन निर्देशन दिएको महरले बताए।
सांसदहरूले सम्बन्धित विषयका विज्ञहरूसँग छलफल गर्ने, तथ्य र विषयवस्तुको गहिरो अध्ययन गर्ने तथा जनतासँग जोडिएका सवाललाई संसद्मा प्राथमिकताका साथ उठाउनुपर्नेमा ओलीले जोड दिएका थिए।
एमाले संसदीय दलको बैठकमा संसद्मा पार्टीको उपस्थिति संख्याका आधारमा मात्र नभई विषयगत रूपमा प्रभावकारी बनाउनुपर्ने विषयमा पनि छलफल भएको थियो।
सरकारमाथि एमालेको कडा आरोप
बैठकले वर्तमान सरकार लोकतन्त्र, संविधानको संरक्षण तथा जनजीविकाका सवालमा प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको महरले बताए।
एमालेले सरकारको कार्यशैलीलाई लिएर गम्भीर आरोपसमेत लगाएको छ। महरका अनुसार बैठकले सरकार निरन्तर रूपमा स्वेच्छाचारी र तानाशाही प्रवृत्तितर्फ अघि बढिरहेको निष्कर्ष निकालेको हो।
सरकारले संसद्लाई प्रभावकारी र उत्तरदायी बनाउन नसकेको आरोप लगाउँदै उनले सत्ताको प्रभावमा संसद्लाई सीमित गर्न खोजिएको दाबी गरे।
जनमतको सम्मान नगरी संसद्लाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै एमालेले आगामी दिनमा सदनभित्र र बाहिर दुवै मोर्चाबाट आफ्नो भूमिका थप प्रभावकारी बनाउने संकेत गरेको छ।








Facebook Comments