काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार ढल्ने चर्चा निराधार रहेको दाबी गरेका छन्।

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा आइतबार सम्बोधन गर्दै लामिछानेले सरकार ढल्छ भनेर निरन्तर चर्चा गर्नेहरूलाई त्यस्तो हल्ला दोहोर्‍याउन छाड्न आग्रह गरे।

ad

उनले सरकार ढल्ने प्रतीक्षामा रहेका व्यक्तिहरू नै राजनीतिक रूपमा कमजोर हुने टिप्पणी गरे। ‘सरकार ढल्छ–ढल्छ भन्नेहरू सरकार नढलेको देखेर सरकार ढल्नुअघि नै ढल्छन्,’ लामिछानेले भने।

उनले रास्वपा नेतृत्वको सरकारले पाँच वर्षको कार्यकालमा अपेक्षाअनुसार काम गर्न नसके त्यसको जिम्मेवारी पार्टीले लिनुपर्ने बताए। सरकारको कामप्रति असन्तुष्ट हुने अवस्था आए पार्टीको सदस्यता नै त्याग्नसमेत उनले आग्रह गरे।

सम्बोधनका क्रममा लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठूलो शक्ति र कमजोरी दुवै उसको इतिहास रहेको टिप्पणी गरे।

उनले आफूले निष्ठा र राजनीतिक मूल्यलाई भौतिक सम्पत्तिभन्दा महत्त्व दिएको भए आफू पनि कांग्रेसमा हुन सक्ने भन्दै कांग्रेसको राजनीतिक अभ्यासमाथि व्यंग्य गरे।

समानुपातिक प्रणाली, अवसरको वितरण र निर्वाचनमा अन्य दलका उम्मेदवारलाई मत दिन गरिएको आग्रहजस्ता विषयमा कांग्रेसको आलोचना गर्दै उनले यस्ता अभ्यास फरक भएको भए आफू कांग्रेसमै हुन सक्ने बताए।

लामिछानेले नेपालमा लोकतन्त्र र देशको अस्तित्व खतरामा नरहेको दाबी गर्दै कांग्रेसलाई लोकतन्त्रको एकल संरक्षकका रूपमा प्रस्तुत नगर्न आग्रह गरे।

उनले लोकतन्त्रको रक्षा कुनै एउटा दलको मात्र जिम्मेवारी नभएको भन्दै सबै राजनीतिक शक्ति र नागरिकको साझा दायित्व भएको धारणा राखे।

रास्वपा नेतृत्वको वर्तमान सरकारलाई लिएर विभिन्न कोणबाट भइरहेको आलोचना र सरकारको भविष्यबारे उठिरहेका प्रश्नका बीच लामिछानेले सरकार आफ्नो कार्यकाल पूरा गर्ने दाबी गरेका हुन्।