काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी नयाँ सोच, ऊर्जा र स्पष्ट दृष्टिकोणसहित अघि बढिरहेको बताएका छन्।

काठमाडौंमा आइतबारदेखि सुरु भएको कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले विशेष महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरेपछि पार्टीले नयाँ भिजनसहित आफ्नो राजनीतिक यात्रा अघि बढाएको बताए।

ad

उनका अनुसार महाधिवेशन सम्पन्न भएपछि कांग्रेस थप दृढता र नयाँ ऊर्जाका साथ संगठन तथा राजनीतिक गतिविधिमा केन्द्रित हुनेछ।

बीपी कोइरालाले स्थापना गरेको कांग्रेसलाई अग्रज नेताहरूको योगदान र सम्मानलाई आत्मसात् गर्दै नयाँ पुस्ताले अघि बढाइरहेको शर्माले बताए। उनले नयाँ पुस्ताको नेतृत्व र पुरानो पुस्ताको अनुभवलाई जोडेर मुलुकको विकास र समृद्धिमा योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

संविधान संशोधनमा सबै पक्षको सहभागिता आवश्यक
उपसभापति शर्माले संविधान संशोधनलाई केवल संसद्मा रहेको संख्यात्मक समीकरणका आधारमा अघि बढाउन नहुने धारणा राखे।

संविधान संशोधनमा राजनीतिक दलसँगै विभिन्न समुदाय र आन्दोलनबाट स्थापित अधिकार तथा भावनाको समेत प्रतिनिधित्व हुनुपर्ने उनको भनाइ थियो। उनले संसद्मा अहिले प्रतिनिधित्व नरहेका, तर विगतमा संविधानसभामा सहभागी भएका राजनीतिक दलहरूलाई समेत संशोधन प्रक्रियामा समेट्न सरकारसँग आग्रह गरे।

शर्माले संविधान संशोधन गर्दा विगतका विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई सुरक्षित राख्नुपर्नेमा जोड दिए।

उनले जेन्जी आन्दोलन, मधेस आन्दोलन, २०६२/६३ को जनआन्दोलन, थारूहट आन्दोलनलगायत दलित, जनजाति तथा कर्णाली क्षेत्रबाट उठाइएका समावेशी अधिकारका सवाललाई संशोधनका क्रममा सम्बोधन गर्नुपर्ने बताए।

उनका अनुसार संविधान संशोधनको प्रक्रिया अघि बढाउँदा विभिन्न आन्दोलनबाट स्थापित अधिकारमा कुनै असर नपर्ने गरी सहमति निर्माण गर्न आवश्यक छ।

शर्माले कांग्रेसको आगामी राजनीतिक यात्रामा नयाँ पुस्ताको ऊर्जा, अग्रजको अनुभव र संविधानका उपलब्धिको संरक्षणलाई प्राथमिकतामा राख्ने संकेतसमेत गरे।