काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय मुद्दामा राजनीतिक दलहरूबीच सहकार्य र संवादको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गरिरहेको पहल सकारात्मक रहेको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले लामिछानेले राष्ट्रिय मुद्दामा दलहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेको उल्लेख गरे। तर सरकारको कार्यशैलीप्रति भने उनले असन्तुष्टि जनाउँदै राजनीतिक दल, संसद् र नागरिकसँग पर्याप्त संवाद हुन नसकेको आरोप लगाए।

ad

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरूलाई एकठाउँ ल्याउन राष्ट्रिय मुद्दामा निरन्तर प्रयत्न गरिरहनुभएको छ,’ पोखरेलले भने, ‘तर सरकार राजनीतिक दलसँग संवाद गर्दैन, संसद्सँग संवाद गर्दैन र नागरिकसँग पनि संवाद गर्दैन।’

उनले प्राकृतिक विपत्ति, लोकतन्त्र, राष्ट्रियता, सुशासन र नयाँ पुस्ताका अपेक्षाजस्ता विषयमा मुलुक गम्भीर चुनौतीको अवस्थामा रहेको बताए।

सरकारको कार्यशैलीले लोकतन्त्रको भविष्यबारे समेत प्रश्न खडा गरेको पोखरेलको भनाइ थियो। जनताबाट निर्वाचित प्रधानमन्त्रीले आफ्नै संसदीय दल, संसद् र जनताको आवाजलाई पर्याप्त महत्त्व नदिएको उनको आरोप थियो।
‘जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्री आफैंले चुनेको संसदीय दललाई चिन्नुहुन्न, संसद्लाई सुन्नुहुन्न, जनताका कुरा सुन्नुहुन्न,’ उनले भने।

यस्तो अवस्थाले मुलुक लोकतान्त्रिक शासन व्यवस्थातर्फ अघि बढिरहेको हो कि स्वेच्छाचारी र अधिनायकवादी दिशातर्फ भन्ने प्रश्न उठाएको उनले बताए।

लोकतन्त्रको रक्षाका लागि लोकतन्त्रवादी र वामपन्थी शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। विगतमा राणाशासन, पञ्चायत र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध विभिन्न राजनीतिक शक्ति एकजुट भएको स्मरण गर्दै उनले लोकतन्त्रको रक्षा गर्न फेरि सामूहिक प्रयास आवश्यक रहेको बताए।

बलियो जनादेशपछि पनि राजनीतिक अस्थिरताको चिन्ता
पोखरेलले जनताको बलियो जनादेशबाट बनेको सरकारसँग राजनीतिक स्थायित्वको आधार तयार हुने अपेक्षा गरिए पनि अहिले मुलुक नयाँ चुनौतीमा फसेको बताए।विशेषगरी भू–राजनीतिक द्वन्द्वका कारण नेपालको भविष्यबारे प्रश्न उठ्न थालेको उनको भनाइ थियो।

उनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अस्मिताको रक्षाका लागि राजनीतिक दलहरू राष्ट्रियताको मुद्दामा एक ठाउँमा उभिनुपर्ने बताए। नेपाल भू–राजनीतिक द्वन्द्वको चपेटामा नपर्ने विषयमा नेपाली जनता तथा छिमेकी मुलुकलाई समेत विश्वस्त पार्नुपर्ने उनले बताए।

पोखरेलले नेपाली जनताले राजनीतिक परिवर्तनसँगै सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकासको अपेक्षा गरेको बताए। तर पछिल्लो अवस्थामा सुशासनको अवस्था कमजोर हुँदै गएको र राज्यको सेवा प्रवाह प्रभावकारी बन्न नसकेको उनको दाबी थियो।

नयाँ पुस्ताका सपना र अपेक्षालाई निराशामा परिणत हुन दिन नहुने भन्दै उनले राजनीतिक नेतृत्वले उनीहरूमा आशा जगाउने गरी काम गर्नुपर्ने बताए।

उनले इतिहासबाट पाठ सिक्न नसके त्यसको परिणाम राजनीतिक शक्तिहरूले भोग्नुपर्ने चेतावनीसमेत दिए।
पोखरेलले जलवायु परिवर्तनका कारण नेपाल प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको बताए।

हालैका हिमपहिरो र बाढीका घटनाले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको उल्लेख गर्दै उनले यस्ता विपत्तिबाट उत्पन्न पीडा अझै समाप्त नभएको बताए।

हिमाली क्षेत्रमा बढ्दो तापक्रम र वातावरणीय परिवर्तनले नेपालको भविष्य थप असुरक्षित बनाउँदै लगेको उनको भनाइ थियो। जलवायु परिवर्तन र जलवायु न्यायको विषयलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने उनले बताए।

सूचना प्रविधिको परिवर्तनअनुसार राजनीति बदल्नुपर्ने
एमाले महासचिव पोखरेलले सूचना प्रविधिको तीव्र विकासले समाजको सोच र राजनीतिक मनोविज्ञानमा समेत ठूलो परिवर्तन ल्याएको बताए।

परम्परागत विचारधारामा आधारित राजनीतिक दलहरूले नयाँ पुस्ताको बदलिएको मनोविज्ञान बुझेर आफ्नो राजनीतिक शैली र आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने उनको भनाइ थियो।

‘अनुहार बदलेर मात्रै हुँदैन,’ पोखरेलले भने, ‘सूचना प्रविधिको क्रान्तिले ल्याएको सामाजिक मनोविज्ञानमा बदलाव ल्याउन नयाँ राजनीतिक क्रान्तिको आवश्यकता छ।’

कांग्रेसको १५औँ महाधिवेशनले नयाँ पुस्ताका भावना र अपेक्षालाई सम्बोधन गर्ने राजनीतिक दिशातर्फ अघि बढ्न सक्ने उनले विश्वास व्यक्त गरे।

सम्बोधनका क्रममा पोखरेलले कांग्रेस सभापति गगन थापासँगको पुरानो राजनीतिक सहकार्य पनि सम्झिए।

माघ १९ पछि अनेरास्ववियु र नेविसंघले त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको खुला सभामा आफू र थापा सहभागी भएको उनले बताए। उक्त कार्यक्रम गणतन्त्रको पक्षमा राजनीतिक वातावरण निर्माण गर्ने प्रारम्भिक अभियानमध्ये एक भएको उनको भनाइ थियो।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको सन्दर्भमा त्यस समयको राजनीतिक सहकार्य स्मरणीय रहेको पोखरेलले बताए।

विशेष महाधिवेशनबाट कांग्रेस सभापति बनेका थापा १५औँ राष्ट्रिय महाधिवेशनबाट सिंगो कांग्रेसका लागि स्वीकार्य नेतृत्वका रूपमा स्थापित हुने विश्वाससमेत उनले व्यक्त गरे।

कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनले बदलिँदो राजनीतिक परिस्थिति, नयाँ पुस्ताको अपेक्षा र लोकतन्त्रको भविष्यबारे स्पष्ट दिशा तय गर्न सक्ने अपेक्षा गर्दै पोखरेलले महाधिवेशनको सफलताको शुभकामना दिए।