काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक गिरीले पार्टीको १५ औँ महाधिवेशनमा केन्द्रीय उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
 
पार्टीको वर्तमान सांगठनिक अवस्था, बदलिँदो राजनीतिक परिदृश्य, कार्यकर्ता तथा जनताको अपेक्षा र आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकालाई ध्यानमा राख्दै उनले आफ्नो उम्मेदवारी अघि सारेका हुन्। “गुटभन्दा माथि कांग्रेस, पदभन्दा माथि जिम्मेवारी र भाषणभन्दा माथि परिणाम” भन्ने मूल मन्त्रका साथ उम्मेदवारी घोषणा गर्दै नेता गिरीले आफ्नो कदमलाई नेपाली कांग्रेसलाई थप एकताबद्ध, संगठित, जनमुखी, लोकतान्त्रिक र गतिशील बनाउने अभियानका रूपमा प्रस्तुत गरेका छन्।

गिरीले आफ्नो उम्मेदवारीका प्रमुख आधारहरू सार्वजनिक गर्दै गुटबन्दीभन्दा माथि उठेर सिंगो कांग्रेसको सुदृढीकरण, वडादेखि केन्द्रसम्मका कमिटीहरूको सक्रियता र लामो समय योगदान गरेका निष्ठावान् कार्यकर्ताको उचित सम्मानलाई मुख्य प्राथमिकतामा राखेका छन्।
 
त्यसैगरी पार्टीभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाफदेहिता सुदृढ बनाउँदै युवा पुस्तालाई निर्णय प्रक्रियाको महत्त्वपूर्ण साझेदार बनाउने र महिला, दलित, आदिवासी जनजाति, मधेसी तथा पछाडि पारिएका समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उनको लक्ष्य छ। कांग्रेसलाई निर्वाचनका बेला मात्र नभई निरन्तर जनतासँग जोडिने आधुनिक, प्रविधिमैत्री र डिजिटल संगठन बनाउँदै कृषि, रोजगारी, सुशासन र उत्पादनमुखी अर्थतन्त्रका पक्षमा उभ्याउने प्रतिबद्धता उनले जनाएका छन्।

उम्मेदवारी घोषणाका क्रममा नेता गिरीले आगामी महाधिवेशनलाई केवल पदको प्रतिस्पर्धाभन्दा पनि नीति, विचार, संगठन र भावी दिशाबारे गम्भीर बहस गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। नेपाली कांग्रेसका कार्यकर्ता नै संगठनको वास्तविक शक्ति भएको उल्लेख गर्दै उनले उनीहरूको सम्मान, योगदानको सही मूल्यांकन र भविष्यप्रतिको विश्वास नै आफ्नो राजनीतिक प्राथमिकता भएको स्पष्ट पारेका छन्।
 
लोकतान्त्रिक आन्दोलन, संविधानको संरक्षण र दाङसहित पश्चिम नेपालको विकास निर्माणमा निरन्तर क्रियाशील रहँदै आएका गिरीले आफ्नो लामो राजनीतिक अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर कांग्रेसलाई आगामी दिनमा देशको भरोसायोग्य, जनविश्वसनीय र अग्रणी राजनीतिक शक्तिका रूपमा पुनस्थापित गर्ने दाबी प्रस्तुत गरेका छन्।

ad