काठमाडौँ  ।नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा पूर्व राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले आजदेखि काठमाडौंमा सुरु हुन लागेको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन् । उनले महिला खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेकी हुन् ।

लामो समयदेखि नेपाली कांग्रेसको सांगठनिक राजनीतिमा निरन्तर सक्रिय रहँदै आएकी देवकोटाले पार्टीको सांगठनिक सुदृढीकरण, नीतिगत सुधार र महिला सहभागितालाई थप सशक्त बनाउने एजेन्डासहित उम्मेदवारी दिन लागेको बताएकी छन् ।

ad

दाङ जिल्लालाई मुख्य राजनीतिक कर्मथलो बनाउँदै आएकी देवकोटा दोस्रो संविधान सभामा सदस्य रही नेपालको संविधान (२०७२) निर्माण प्रक्रियामा महत्वपूर्ण योगदान पुर्‍याएकी नेतृ हुन्। लोकतान्त्रिक प्रणाली, अधिकारको ग्यारेन्टी र प्रादेशिक समावेशिताका पक्षमा संविधान सभामा उनले खेलेको भूमिका महत्त्वपूर्ण मानिन्छ ।

संविधान निर्माण पश्चात् उनी राष्ट्रिय सभा सदस्यका रूपमा निर्वाचित भएकी थिइन् । राष्ट्रिय सभामा रहँदा उनले नेपाली कांग्रेसको मुख्य सचेतकको जिम्मेवारी कुशलतापूर्वक सम्हालेकी थिइन् । संसदीय गतिविधि, ऐन-कानुन निर्माण, र सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने क्रममा उनको भूमिका प्रभावशाली रहेको थियो।

पार्टीभित्र र बाहिर निष्कलंक र तार्किक नेतृको छवि बनाएकी देवकोटाले १५ औँ महाधिवेशनमा महिलाहरूको उपस्थिति केवल आरक्षणमा मात्र सीमित नगरी खुला प्रतिस्पर्धा र नेतृत्वदायी भूमिकामा स्थापित हुनुपर्छ भन्ने सन्देश दिन महिला खुलातर्फ उम्मेदवारी दिन लागेको बताइन्।

"संविधान सभादेखि राष्ट्रिय सभाको मुख्य सचेतकसम्मको संसदीय अनुभव र संगठन निर्माणमा खटिएको लामो राजनीतिक योगदानलाई महाधिवेशन प्रतिनिधिहरूले मूल्याङ्कन गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु," उनले भनिन्, "पार्टीमा वैचारिक स्पष्टता, समावेशी नेतृत्व र महिला सशक्तीकरणलाई मजबुत बनाउन मेरो उम्मेदवारी हो।"

कांग्रेसको १५ औँ महाधिवेशनमा देवकोटा जस्ता अनुभवी र स्थापित महिला नेतृको केन्द्रीय समितिमा प्रतिस्पर्धाले पार्टीभित्र उत्साह थपेको नेताहरू बताउँछन् ।