
काठमाडौं ।चार दशकभन्दा लामो राजनीतिक यात्रा र साढे तीन दशकभन्दा बढीको पत्रकारिता अनुभव बोकेका नेपाली कांग्रेसका नेता कबिर राणा अब पार्टीको केन्द्रीय सदस्यको उम्मेदवारका रूपमा महाधिवेशनको मैदानमा उत्रिने तयारीमा छन् । आजदेखि सुरु हुने पार्टीको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारीमा आफ्नो स्वभाविक दावी रहेको राणाले बताए ।
भक्तपुर क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका राणाका लागि यो उम्मेदवारी केवल एउटा पदको दौडमात्र होइन। विद्यार्थी राजनीति, पत्रकारिता र संसदीय निर्वाचनको अनुभवलाई एउटै धागोमा उनेर पार्टी नेतृत्वमा पुग्ने प्रयासको रुपमा समर्थकहरूले बुझेका छन् ।
राणाको राजनीतिक यात्रा २०३६ सालमा विद्यार्थी राजनीतिबाट सुरु भएको हो । त्यो समय नेपाली राजनीतिका लागि उथलपुथलको कालखण्ड थियो । विद्यार्थी आन्दोलनका बेला जेल जीवन पनि बिताएर राजनीतिक परिवर्तनको आवाज बुलन्द पार्न सक्रिय भएका थिए ।
विद्यार्थी राजनीतिबाट सुरु भएको त्यो यात्रा आज चार दशकभन्दा लामो भइसकेको छ। यो अवधिमा देशले जनआन्दोलन, राजनीतिक व्यवस्था परिवर्तन, संविधान निर्माणजस्ता ठूला मोड पार गरेको छ। ती सबै कालखण्डमा राजनीतिक रूपमा सक्रिय रहेको अनुभव आफ्नो पुँजी भएको उनी बताउँछन्।
राणाको पहिचान राजनीतिमा मात्र सीमित छैन। २०४५ सालदेखि उनी पत्रकारिता क्षेत्रमा पनि सक्रिय छन् । उनी देशान्तर मिडिया प्रालिका कार्यकारी अध्यक्ष एवं प्रधानसम्पादकको भूमिकामा पनि सक्रिय छन् । राजनीतिक दलका नेता र पत्रकार दुवै भूमिकामा लामो समय बिताएकाले उनले सत्ता, दल र जनताबीचको सम्बन्धलाई दुवै कोणबाट नजिकबाट नियालेकाले उनको उम्मेदवारी स्वभाविक रुपमा लिइएको छ ।
अनुभव खारिएका राणालाई पार्टीको नीति, सञ्चार र जनसम्पर्कका विषयमा फरक दृष्टि दिएको छ । दलका निर्णयहरू जनतासम्म कसरी पुग्छन्, जनताका आवाज दलभित्र कसरी सुनिन्छन् भन्ने कुरा बुझ्न पत्रकारिताले सघाएको समर्थकहरु बताउँछन् ।
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा राणा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धामा उत्रिएका थिए । निर्वाचनपछि पनि उनी पार्टी संगठनमा सक्रिय रहे । त्यसको परिणामस्वरूप अहिले भक्तपुर २ बाट उनी महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधि हुनु केन्द्रीय पदको उम्मेदवारीका लागि आधारभूत योग्यता मात्र नभई आफ्नो क्षेत्रका कार्यकर्ताको भरोसा पनि हो भन्ने उनको भनाइ छ ।
१५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्दै राणाले आफ्नो लामो अनुभव पार्टीको हितमा प्रयोग गर्ने इच्छा व्यक्त गरेका छन्।
संगठन सुदृढीकरण, युवा तथा विद्यार्थी सहभागिता, पारदर्शिता, आन्तरिक लोकतन्त्रमा केन्द्रित गर्नुपर्ने उनको धारणा छ ।
राणाको उम्मेदवारीलाई भक्तपुरका कांग्रेस कार्यकर्ताले स्वागत गरेका छन् । आफ्नो जिल्लाबाट केन्द्रीय समितिमा सशक्त प्रतिनिधित्व पुग्नुपर्छ भन्ने भावना कार्यकर्तामाझ रहेको छ ।
समर्थकहरूका अनुसार जमिनी तहसम्मको सम्पर्क, पत्रकारिताले दिएको विश्लेषण क्षमता र लामो संगठनात्मक अनुभवले केन्द्रीय समितिमा राणाले उपयोगी भूमिका खेल्न सक्छन्।
केन्द्रीय सदस्यका लागि महाधिवेशनमा सधैं कडा प्रतिस्पर्धा हुने गर्छ । यसपटक पनि धेरै नेताले उम्मेदवारी दिने अपेक्षा गरिएको छ । यस्तो प्रतिस्पर्धामा प्रतिनिधिहरूसँगको प्रत्यक्ष सम्पर्क, विगतको योगदान र संगठनमा पकड निर्णायक हुने नेताहरूको बुझाइ छ ।
राणाले महाधिवेशनका प्रतिनिधिहरूसँग भेटघाट र छलफल गरिरहेको जनाएका छन् । आफ्नो अनुभव, सक्रियता र पार्टीप्रतिको प्रतिबद्धतालाई आधार बनाएर प्रतिनिधिहरूको समर्थन जुटाउने उनको योजना छ ।
विद्यार्थी राजनीतिदेखि पत्रकारिता र संसदीय निर्वाचनसम्मको यात्रा तय गरिसकेका राणाका लागि केन्द्रीय सदस्यको उम्मेदवारी अर्को महत्त्वपूर्ण पडाव हो । महाधिवेशनका प्रतिनिधिले उनको अनुभव र क्षमतामाथि कति विश्वास गर्छन् भन्ने कुरा मतदानपछि मात्र थाहा हुनेछ । तर चार दशकको सक्रियताले उनलाई प्रतिस्पर्धाको गम्भीर दाबेदारका रूपमा उभ्याएको समर्थकहरूको दाबी छ।









Facebook Comments