प्रतिमा भट्ट, गोरखा

दोस्रो विशेष महाधिवेशनको आह्वान लगत्तै नेपाली कांग्रेसका दुई शीर्ष नेता गगन थापा र विश्वप्रकाश शर्माले देशभरका युवाहरूमाझ एउटा अत्यन्तै महत्त्वपूर्ण र दूरगामी सन्देश प्रवाह गर्नुभएको थियो । महाधिवेशनको आह्वानदेखि प्रचार, उद्घाटन र सम्पूर्ण प्रक्रियाभरि उहाँहरूले न कसैप्रति व्यक्तिगत गालीगलौज गर्नुभयो, न त कुनै अराजक भाषण नै । व्यक्तिमाथि होइन, नीति, विचार र नेतृत्वको सही दिशामाथि बहस गरेर उहाँहरूले नयाँ राजनीतिक संस्कारको सुरुवात गर्नुभयो । किनभने विद्रोह सधैँ हिंसा र अराजकताबाट मात्र जन्मँदैन, वास्तविक र दिगो विद्रोह त शब्द, चेतना, गहन प्रश्न र सबैभन्दा महत्त्वपूर्ण कुरा सामूहिक संकल्पबाट जन्मन्छ ।

ad

यही बदलिँदो चेतना नै अबको नयाँ नेपाली कांग्रेसको वास्तविक आधारशिला हो । अबको कांग्रेस वडा–वडाबाट उठेर आएका नयाँ युवा, महिला, पेसागत विज्ञ, श्रमिक र उद्यमीहरूको व्यापक सहभागिताबाट निर्मित गतिशील संगठन बन्नुपर्छ । हामीलाई केवल अनुहार वा पात्र फेरिएको कांग्रेस होइन, बरु सोच, संरचना, राजनीतिक संस्कार र निर्णय गर्ने शैलीमै गुणात्मक परिवर्तन आएको कांग्रेस चाहिएको हो । यस रूपान्तरणको प्रक्रियामा महिलाको भूमिका केवल सभा–समारोहका मञ्चमा उपस्थित गराउनका लागि मात्र सीमित हुनु हुँदैन, उनीहरूको भूमिका वास्तविक शक्ति र अधिकारसहितको हुनुपर्छ । महिलालाई नीति निर्माण गर्ने मुख्य टेबलमा निर्णायक भूमिकामा पुर्‍याएर आफ्ना मुद्दाहरू निर्धक्क स्थापित गर्न सक्ने नेतृत्वदायी स्थान दिनु आजको अनिवार्य सर्त हो ।

हामी यस्तो रूपान्तरित कांग्रेस निर्माण गर्न चाहन्छौँ, जहाँ पार्टीका लागि जीवनभर निष्ठापूर्वक योगदान गरेका पुराना पुस्ताका अग्रज कार्यकर्ताले आफ्नो त्याग, संघर्ष र योगदानको उच्च सम्मान महसुस गर्न सकून् ।

साथै, राजनीतिमा आउन र कांग्रेस रोज्न तयार भएका नयाँ पुस्ताले पनि ‘यो मेरो पार्टी हो, यहाँ मेरो आवाजको सम्मान हुन्छ र यहाँ मेरो सुरक्षित भविष्य छ’ भन्ने गर्वका साथ महसुस गर्न सकून् । पुरानाको अनुभव र नयाँको ऊर्जालाई जोड्ने यही सपना नै १५औँ महाधिवेशनले बोकेर ल्याएको रूपान्तरण र परिवर्तनको स्पष्ट संकेत हो ।