
कविता उपाध्याय, रोल्पा
नेपाली कांग्रेस वैचारिक रूपमा स्पष्ट, आन्तरिक रूपमा लोकतान्त्रिक र जनताका समसामयिक मुद्दामा पूर्ण रूपमा केन्द्रित हुनुपर्छ भन्ने मेरो दृढ मान्यता छ । अबको नेपाली कांग्रेसलाई जानी–नजानी कुनै पनि गल्ती गर्ने छुट छैन, विगतका गल्ती–कमजोरीहरूबाट पाठ सिक्दै आत्मसमीक्षाका साथ अगाडि बढ्नु आजको मुख्य आवश्यकता हो ।
विशेषगरी पार्टी सभापति गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसबाट आमजनताले निकै ठूलो आशा र भरोसा राखेका छन् । उहाँहरूमा देखिएको त्यो दृढ संकल्प र परिवर्तनको अठोटलाई पूरा गर्न शीर्ष नेतृत्वको प्रयास मात्र पर्याप्त हुँदैन, तल्लो तहका आमजनता र कार्यकर्ताको बलियो साथ र सहयोग पनि उत्तिकै आवश्यक पर्छ । जनताको निरन्तर साथ रह्यो भने मात्र नेतृत्वले सोचेको परिवर्तन सम्भव हुन्छ र पार्टी सफल हुन सक्छ ।
विगतका दिनहरूमा पार्टीभित्र धेरै गुटबन्दी र विभाजनहरू देखिए, जसले संगठनलाई कमजोर बनायो । तर अबको समय गुट र फुटको होइन, एकजुट भएर अगाडि बढ्ने जुटको हो । सिंगो पार्टीलाई एक ढिक्का बनाएर, सबैलाई समेट्दै र एउटै थलोमा उभ्याएर नेतृत्व अगाडि बढ्न जरुरी छ । यदि नेपाली कांग्रेसले आफूलाई यसरी सुधार गर्दै लगेमा पार्टी पंक्ति मात्र होइन, समग्र आमजनताले पनि एकपटक विश्वास गरेर नेपाली कांग्रेसलाई देशको नेतृत्व गर्ने अवसर दिनुपर्छ भन्ने मलाई लाग्छ ।









Facebook Comments