देवेन्द्रकुमार शेरचन, कास्की

नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अध्यक्ष तथा निर्वाचित महाधिवेशन प्रतिनिधिको हैसियतमा मेरो स्पष्ट मत के छ भने, अबको नेपाली कांग्रेस युवाहरूको रोजाइ र जनजनको मनमा बस्न सक्ने प्रिय र जीवन्त पार्टी बन्नुपर्छ ।

ad

यसका लागि आगामी महाधिवेशन केवल पद बाँडफाँडको थलो होइन, बरु दूरदर्शी नीति र समृद्धिको स्पष्ट कार्यक्रम तय गर्ने ऐतिहासिक मोड बन्नुपर्छ । हामीले बदल्न खोजेको नेपालको भूगोल होइन, हामी त देशको परिस्थिति, थिचोमिचो, निराशा र थिग्रिएको अवधिलाई परिवर्तन गर्न चाहन्छौँ । त्यसैले, अब आउने अधिवेशनले सम्पूर्ण देशको अवस्था बदल्न सक्ने र कांग्रेसलाई राष्ट्रका लागि अनिवार्य एवं अपरिहार्य शक्ति बनाउन सक्ने प्रगतिशील नीति तथा कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

बलियो नीतिको जगमा टेकेर देशलाई निकास दिन सक्ने सर्वस्वीकार्य र क्षमतावान् नेतृत्व चयन गर्नु आजको अर्को प्रमुख दायित्व हो । वर्तमान राजनीतिक परिस्थितिमा आमजनता र युवापुस्ताले देश परिवर्तनको संवाहकका रूपमा आदरणीय नेता गगन थापालाई हेरेका छन् ।

उहाँको दूरदृष्टि, स्पष्ट दृष्टिकोण र कार्यक्षमता नै यो देशको निराशालाई आशामा बदल्ने मुख्य आधार हो । त्यसैले, गगन थापाकै सर्वस्वीकार्य नेतृत्वमा नेपाली कांग्रेसलाई विचार, संगठन र युवा ऊर्जाले भरिपूर्ण ‘हराभरा कांग्रेस’ बनाउने दृढ संकल्प हामीले लिएका छौँ । नीतिमा स्पष्टता र गगन थापाको नेतृत्व नै अबको कांग्रेस र समृद्ध नेपाल निर्माणको एक मात्र सही मार्गचित्र हो ।