
सुशील भट्ट, काठमाडौं
नेपाली कांग्रेस आफ्नो राजनीतिक इतिहासको एक महत्त्वपूर्ण र संवेदनशील मोडमा उभिएको छ । विशेषगरी जेनजी आन्दोलन र बदलिँदो जनअपेक्षाहरूपछि कांग्रेसका सामु रहेको सबैभन्दा ठूलो चुनौती केवल संगठनभित्रको नेतृत्व परिवर्तन वा पदको हस्तान्तरण मात्र होइन, बरु जनतासँग टुटेको भरोसाको सम्बन्धलाई पुनः स्थापित गर्नु र नयाँ पुस्ताका प्रश्नहरूको इमानदार उत्तर दिनु हो । कांग्रेस नेतृत्वले पनि सार्वजनिक रूपमा महाधिवेशनपछि जनताको विश्वास फर्काउने विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकतालाई स्वीकार गर्दै आएको छ ।
अबको नयाँ कांग्रेसको प्राथमिकता सत्ता प्राप्ति, शासन सुधार र जनविश्वासको स्पष्ट सम्बन्धमा आधारित हुनुपर्छ । कांग्रेसले अब आफूलाई केवल ‘लोकतन्त्रको ऐतिहासिक पार्टी’ भनेर अतीतको गौरवमा रमाई रहने कि आजको युवा पुस्ताका ज्वलन्त प्रश्नको व्यवहारिक समाधान दिने आधुनिक लोकतान्त्रिक पार्टी बन्ने भन्ने मूल प्रश्नको उत्तर खोज्नु परेको छ ।
यसका लागि १५औँ महाधिवेशनपछिको कांग्रेसले संविधान र लोकतान्त्रिक संस्थाको रक्षा, सुशासन, भ्रष्टाचार नियन्त्रण, उत्पादन र रोजगारी वृद्धि, युवालाई नेपालमै भविष्य देख्न सक्ने वातावरण निर्माण, सार्वजनिक सेवामा सुधार, संघीयताको प्रभावकारी कार्यान्वयन, निजी क्षेत्रको प्रोत्साहन तथा डिजिटल शासन जस्ता स्पष्ट राजनीतिक एजेन्डाहरूलाई अगाडि बढाउनुपर्छ । यससँगै कांग्रेसको मनोदशा र राजनीतिक संस्कारमा व्यापक परिवर्तनको खाँचो छ ।
पार्टी रक्षात्मक होइन आत्मसमीक्षात्मक, अहंकारी होइन संवादमुखी, गुटमुखी होइन संस्थामुखी, र पदमुखी होइन परिणाममुखी बन्नैपर्छ । विगतको गौरवमा मात्र निर्भर नरहेर भावी एजेन्डामा केन्द्रित हुने तथा विपक्षमा रहँदा विरोधका लागि विरोध मात्र नगरी रचनात्मक वैकल्पिक समाधान प्रस्तुत गर्ने जिम्मेवार राजनीतिक शक्ति बन्नु आजको आवश्यकता हो । कांग्रेसको भावी भूमिका अब लोकतन्त्रको ‘पुरानो पहरेदार’मा मात्र सीमित नभई नयाँ पुस्ताले भरोसा गर्न सक्ने लोकतान्त्रिक संस्था निर्माण गर्ने हुनुपर्छ । कांग्रेसले जेनजी पुस्तालाई केवल आफ्नो मतदाता मात्र बनाउने प्रयास गर्ने कि उनीहरूलाई देश निर्माणको वास्तविक राजनीतिक सहयात्री बनाउने भन्ने निर्णयमा नै पार्टीको भविष्य अडिएको छ ।









Facebook Comments