
भरत जोशी, डडेल्धुरा
नेपाली कांग्रेसले सुरुवात गरेको नयाँ पहलकदमी–जसमा केन्द्रीय तहका नेताहरू समेत वडा तहबाटै चुनाव लडेर महाधिवेशन प्रतिनिधि आउनुपर्ने व्यवस्था गरिएको छ–यो एक अत्यन्तै सकारात्मक र सराहनीय कदम हो । पाँच वर्ष नगर सभापति र नगर प्रमुख (मेयर) भएर ग्रासरुट लेभलमा काम गरेको मेरो आफ्नै अनुभवले भन्छ – पार्टीको नेतृत्व र नीति निर्माण तहमा तल्लो तहका आमकार्यकर्ता र जनताको वास्तविक आवाज सुनिनु अनिवार्य छ । आमनागरिकले नेपाली कांग्रेसलाई केवल एउटा राजनीतिक दल मात्र नभई आफ्नो सच्चा र भरपर्दो ‘अभिभावक’का रूपमा महसुस गर्न सकून्, त्यस्तो जनमुखी कांग्रेस आजको आवश्यकता हो ।
पार्टी सभापतिज्यूले भन्नुभएझैँ, ‘युवा भनेको केवल भविष्यका कार्यकर्ता मात्र होइनन्, वर्तमानका सारथि र कार्यकर्ता पनि हुन् ।’ यही मर्मलाई आत्मसात् गर्दै नयाँ कांग्रेसले २५ वर्षमुनिका युवाहरूलाई केन्द्रीय समितिसम्म प्रतिनिधित्व सुनिश्चित गर्ने जुन वैधानिक व्यवस्था र प्लेटफर्म तयार गरेको छ, यसले तल्लो तहदेखि माथिल्लो तहसम्म हजारौँ युवाहरूलाई नेतृत्वमा ल्याउने ढोका खोलेको छ ।
पुस्तान्तरण र रूपान्तरणको कुरा गर्दा, म आफैँ पनि यसको प्रत्यक्ष उदाहरण हुँ । आजभन्दा करिब पाँच वर्षअघि, २८ वर्षको उमेरमै मैले नगर सभापति बन्ने र पार्टीको तर्फबाट नगर प्रमुख (मेयर)को टिकट पाएर जनताबाट निर्वाचित हुने अवसर पाएको थिएँ । युवाहरू कार्यकर्ता मात्र नभएर निर्णायक नेतृत्वमा आउनुपर्छ भन्ने अभ्यास मैले उही बेला भोगेको थिएँ । आज जेनजी आन्दोलनपछि तल्लो वडा तहदेखि जिल्ला र केन्द्रीय प्रतिनिधिसम्म युवाहरूको जुन व्यापक सहभागिता र अभूतपूर्व उत्साह देखिएको छ, यसले पुस्तान्तरण र रूपान्तरण अब नारामा मात्र सीमित नरहेर व्यावहारिक रूपमा कार्यान्वयन भइरहेको पुष्टि गर्दछ ।
अबको कांग्रेसको नेतृत्व कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा, नेतृत्व यस्तो होस् जसले कुनै पनि निर्णय लिँदा ग्रासरुट र तल्लो तहका कार्यकर्ताहरूसँग निरन्तर संवाद र पहुँच राखोस् । नेतृत्वको आचरण, छवि र शैली निष्कलंक होस्, जसले कुनै पनि अनुचित कार्य नगरोस् र कसैले औँला उठाउने ठाउँ नराखोस् । कांग्रेसका कार्यकर्ताका लागि मात्र होइन, सिंगो देशका आमनागरिकले गर्वका साथ ‘हाम्रो अभिभावक’ मान्न सक्ने स्वच्छ, आदरणीय र स्वाभिमानी नेतृत्व नै अबको नेपाली कांग्रेसको पहिचान बन्नुपर्छ ।









Facebook Comments