
शोभा अधिकारी, गोरखा
नेपाली कांग्रेसको इतिहास गौरवपूर्ण छ । लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र नागरिक स्वतन्त्रताका लागि कांग्रेसले खेलेको ऐतिहासिक भूमिका अतुलनीय छ । तर केवल इतिहासको पानामा सीमित रहेर वा अतीतको गौरवमा गर्व गरेर मात्र वर्तमानका चुनौतीहरू पार लगाउन सकिँदैन । अब कांग्रेसले समयको गति र जनताको बदलिँदो आवश्यकतालाई सूक्ष्म रूपमा बुझेर अगाडि बढ्नु अनिवार्य भइसकेको छ । यसका लागि पार्टीभित्र र बाहिर अबको कांग्रेस कस्तो हुने भन्नेबारे गहन र व्यापक बहसको आवश्यकता छ ।
अबको कांग्रेस कुनै अमुक गुट वा गिरोहको होइन, सिंगो देश र आमजनताको कांग्रेस हुनुपर्छ । महिला, युवा, बालबालिका, वृद्ध–वृद्धा, किसान, श्रमिक, उद्यमी तथा व्यवसायी—हरेक नेपालीले गर्वका साथ ‘यो मेरो कांग्रेस हो’ भन्न सक्ने समावेशी आधार तयार हुनुपर्छ । यसका लागि सर्वप्रथम पार्टीभित्रै आन्तरिक लोकतन्त्रको सच्चा अभ्यास हुनुपर्छ । कार्यकर्ताको आवाज सुन्ने, फरक मतको सम्मान गर्ने र चाकडी वा गुटको आधारमा नभई योग्यता, योगदान र जनविश्वासका आधारमा जिम्मेवारी सुम्पिने पारदर्शी पद्धति निर्माण गर्नुपर्छ ।
आजको युवा पुस्ताको सबैभन्दा ठूलो प्रश्न रोजगारी, उद्यमशीलता र सुरक्षित भविष्य हो । त्यसैले अबको कांग्रेस केवल सत्ता प्राप्तिका लागि होइन, जनताको जीवनस्तर बदल्नका लागि क्रियाशील हुनुपर्छ । रोजगारीका अवसर सिर्जना गर्ने, व्यापार–व्यवसाय अनुकूल वातावरण बनाउने, स्वदेशी उत्पादन बढाउने र युवाहरूलाई आफ्नै देशमा भविष्य देख्न सक्ने बनाउने ठोस आर्थिक एजेन्डा कांग्रेससँग हुनुपर्छ । स्वस्थ, सम्पन्न, समृद्ध, सुखी र सम्मानित नेपाली बनाउने सपना मात्र बाँड्ने होइन, त्यसलाई साकार पार्ने दृढ संकल्प र क्षमता अबको नेतृत्वले देखाउनुपर्छ ।
यसका साथै, राष्ट्रियता र राष्ट्रिय हितका विषयमा देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि नेपालको स्वाभिमान र पक्षमा दृढतापूर्वक बोल्न र काम गर्न सक्ने साहसी कांग्रेस आजको आवश्यकता हो । जनताको आवाज सुन्ने, युवालाई भविष्य दिने, महिलालाई नेतृत्वमा ल्याउने, अग्रजको सम्मान गर्ने र हरेक नेपालीको भरोसा बन्ने कांग्रेस नै भोलिको राजनीतिक निकास हो । समग्रमा, गुटमुक्त, पारदर्शी, समृद्धिको स्पष्ट मार्गचित्र बोकेको र सबै नेपालीलाई जोड्ने ‘जनताको कांग्रेस’ नै अबको नेपाली कांग्रेस हुनुपर्छ ।









Facebook Comments