नीलकण्ठ रिजाल, चितवन

नेपाली कांग्रेस आज १५औँ महाधिवेशनको सँघारमा उभिएको छ र यो महाधिवेशन विगतका परम्परागत अधिवेशनहरूभन्दा सर्वथा फरक र ऐतिहासिक ढंगले अगाडि बढिरहेको छ । भर्खरै सम्पन्न विशेष महाधिवेशनपछि पार्टीले एउटा स्पष्ट नयाँ मोड लिएको छ, जसले कांग्रेसभित्र नयाँ युवा, नयाँ शक्ति, नयाँ उत्साह र जागरको नयाँ सञ्चार गराएको छ । लामो समयदेखि पार्टीको नयाँ युवा पंक्ति तथा निरन्तर क्रियाशील पुराना साथीहरूमा समेत छाएको नैराश्यतालाई चिर्दै आगामी दिनमा पार्टीलाई पूर्ण जोस र ऊर्जाका साथ अघि बढाउन यो १५औँ महाधिवेशन एउटा बलियो कोसेढुंगा साबित हुनेछ । विशेष गरी युवाहरूमा छाएको निराशा, बाध्यतात्मक विदेश पलायन र रोजगारीको अभावजस्ता गम्भीर सामाजिक–आर्थिक मुद्दाहरूमा कांग्रेसलाई प्रत्यक्ष जोड्दै, नेपाली कांग्रेस नै देशको राजनीतिको मूल मियो हो भन्ने कुरा पुनः प्रमाणित गर्न यस महाधिवेशनले निर्णायक भूमिका खेल्नेछ ।

ad

यसपटकको महाधिवेशनमा व्यापक युवा सहभागिता, पेसागत कर्मी, ट्रेड युनियन कर्मी तथा लामो समयदेखि पार्टीमा निष्ठापूर्वक खटिएका पुराना नेता–कार्यकर्ताहरूको बलियो उपस्थिति रहेको छ । एकातिर अनुभवी पुराना साथीहरूको संलग्नता छ भने अर्कोतिर नयाँ ऊर्जाशील युवाहरू नेतृत्व लिन तम्सिएर अगाडि आएका छन् । विशेष महाधिवेशनबाट स्वाभाविक र प्राकृतिक रूपमा सुरु भएको पुस्तान्तरणको प्रक्रियालाई यस १५औँ महाधिवेशनले थप संस्थागत र सुदृढ बनाउनेछ । समयको मागअनुसार पुस्तान्तरणसँगै पार्टीको सोच र शैलीमा व्यापक रूपान्तरण आउनु आजको मुख्य आवश्यकता हो ।

१५औँ महाधिवेशन केवल नेतृत्व चयनमा मात्र सीमित नरही पार्टीभित्रका विगतका कमी–कमजोरी, आन्तरिक गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धा र नकारात्मक संस्कारहरूलाई पूर्णतः पन्छाउने अवसर हो । अबको कांग्रेस स्वच्छ छवि भएका, निरन्तर दुःखाजिलो गरेका, र क्षमतावान् कार्यकर्ताहरूले नेतृत्व पाउने थलो बन्नुपर्छ । हिजोका दिनमा अवसरबाट वञ्चित भएर ‘ब्याकबेन्च’मा बस्न बाध्य भएका निष्ठावान् साथीहरूलाई नीति निर्माण र नेतृत्व तहमा सम्मानजनक भूमिका दिलाउँदै, १५औँ महाधिवेशनले नेपाली कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ संकल्प र स्पष्ट वैचारिक दिशा प्रदान गर्नेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ ।