काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी पूरा भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले शनिबार पत्रकार सम्मेलन गर्दै उद्घाटनदेखि बन्द सत्र, प्रतिनिधि व्यवस्थापन र निर्वाचन प्रक्रियासम्मका तयारी पूरा भएको जानकारी दिएका छन् ।

‘नयाँ कांग्रेस, नयाँ संकल्प’ भन्ने नाराका साथ हुने महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंको ऐतिहासिक खुलामञ्चमा हुँदैछ । कांग्रेसले लामो समयपछि खुलामञ्चलाई महाधिवेशनको उद्घाटनस्थलका रूपमा प्रयोग गर्न लागेको हो ।

ad

महाधिवेशनमा देशभरबाट साढे ७ हजार हाराहारी प्रतिनिधि काठमाडौंमा आएका छन् । प्रवक्ता चालिसेका अनुसार ५० हजारभन्दा बढी युवासहित ठूलो संख्यामा नेता, कार्यकर्ता तथा शुभेच्छुक महाधिवेशनमा सहभागी हुनेछन् ।

महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भइसकेको छ । प्रतिनिधिले दर्ताका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

कांग्रेसका अनुसार यसपटक ३५ वर्षमुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक, पेसागत समूह तथा प्रवासमा रहेका नेपालीलाई समेत केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वको अवसर दिइएको छ । यसले पार्टीको नयाँ नेतृत्व चयन प्रक्रियामा विभिन्न समूहको सहभागिता बढाउने कांग्रेसको भनाइ छ ।

बन्द सत्र तीन हलमा
उद्घाटन कार्यक्रमपछि असोज १९ र २० गते बन्द सत्र सञ्चालन हुनेछ । बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रतिवेदनमाथिको छलफललाई व्यवस्थित बनाउन प्रतिनिधिलाई भूगोलका आधारमा समूहमा विभाजन गरिनेछ । तीनवटा फरक हलमा डिजिटल बोर्डको प्रयोग गरी प्रतिवेदनमाथि छलफल तथा सुझाव संकलन गरिने आयोजकले जनाएको छ ।

महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन समितिले पनि कार्यतालिका सार्वजनिक गरिसकेको छ । असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ ।

प्रतिनिधिको आवासदेखि पार्किङसम्म व्यवस्था
महाधिवेशनमा सहभागी प्रतिनिधिको आवास व्यवस्थापनका लागि प्रत्येक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट संयोजक तोकिएको छ । प्रतिनिधिलाई बसोबाससम्बन्धी जानकारी ह्वाट्सएप, एसएमएस तथा एआई नम्बरमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ ।

महाधिवेशनस्थल आसपास हुने सवारी चाप व्यवस्थापन गर्न भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्रमा निजी सवारीसाधन पार्किङको व्यवस्था गरिएको छ । ठूला बसका लागि भने माइतीघरदेखि भद्रकालीसम्मको सडकखण्डमा एक लेन छुट्याउने तयारी गरिएको छ ।

सूचना, सञ्चार तथा प्रविधि समितिका संयोजकसमेत रहेका प्रवक्ता चालिसेका अनुसार महाधिवेशनका गतिविधिबारे सञ्चारमाध्यमलाई नियमित जानकारी दिन मिडिया सेन्टर सञ्चालन गरिनेछ । हरेक दिन महाधिवेशनका प्रमुख गतिविधिबारे मिडिया ब्रिफिङ गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

कांग्रेसले महाधिवेशनलाई नेतृत्व चयनसँगै पार्टीको आगामी नीति, संगठन र राजनीतिक दिशाबारे छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ । उद्घाटनपछि सुरु हुने बन्द सत्र र त्यसपछिको निर्वाचन प्रक्रियाबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ ।