काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवार आपसी समझदारीबाट चयन गर्ने जनाएको छ । समूहभित्र आकांक्षी धेरै भए पनि तत्कालै उम्मेदवार घोषणा गर्ने अवस्था नरहेको नेताहरूको भनाइ छ ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा कांग्रेस नेता डा. प्रकाशशरण महतले महाधिवेशनका लागि अझै समय रहेकाले समूहभित्र व्यापक छलफलपछि मात्रै सभापतिको उम्मेदवार टुंगो लगाइने बताए ।

ad

महतका अनुसार अहिले पार्टीको वडा अधिवेशनको प्रक्रिया चलिरहेको छ । त्यसपछि हुने क्षेत्रीय, जिल्ला र प्रदेश तहका अधिवेशनसँगै नेतृत्वका विषयमा पनि आन्तरिक छलफल अघि बढ्नेछ ।

‘हामी अहिले बल्ल वडा अधिवेशनमा छौँ । हाम्रो महाधिवेशनको समय मंसिरमा हो, त्यही भएर छलफल गरेरै उम्मेदवारको टुंगो लगाउँछौँ,’ महतले भने ।

उनले संस्थापनइतर समूहमा रहेका सबै नेता सभापतिका लागि योग्य र सक्षम रहेको बताए । नेतृत्वका आकांक्षीबीच प्रतिस्पर्धा भए पनि अन्ततः पार्टी र समूहको हितलाई ध्यानमा राखेर साझा उम्मेदवार चयन गरिने उनको भनाइ छ ।

सभापतिको उम्मेदवार चयनका विषयमा समूहभित्र अहिले नै विवाद वा असमझदारी नरहेको दाबी गर्दै महतले आवश्यक समयमा नेताहरूबीच संवादबाट सहमति जुट्ने बताए । उनले सभापति पदका आकांक्षीहरूबीच समझदारी कायम गर्ने प्रयास हुने संकेत गरे ।

कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै पार्टीभित्र नेतृत्वका लागि आन्तरिक समीकरणसमेत बन्न थालेका छन् । सभापति पदमा विभिन्न नेताहरूले आकांक्षा देखाइरहेका बेला संस्थापनइतर समूहले भने उम्मेदवार चयनलाई तत्काल औपचारिक रूप दिनेभन्दा छलफललाई प्राथमिकता दिएको हो ।

यसैबीच महतले पार्टी सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशनपछि सहज रूपमा नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गरे । देउवाको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिको महाधिवेशन प्रक्रियापछि नयाँ नेतृत्व आउने उनको भनाइ थियो ।

महतले असोज १५ गतेदेखि सुरु भएको कांग्रेसको वडा अधिवेशन देशभर उत्साहका साथ अघि बढिरहेको दाबीसमेत गरे । वडा अधिवेशनबाट आउने प्रतिनिधिको संरचनाले आगामी महाधिवेशनमा नेतृत्व चयनको आधार तयार गर्ने भएकाले अहिलेको अधिवेशन प्रक्रिया महत्वपूर्ण रहेको उनले बताए ।

कांग्रेसभित्र महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापति र अन्य पदाधिकारीका आकांक्षीबीच सहमति जुटाउने प्रयास तीव्र हुने देखिएको छ । संस्थापनइतर समूहले भने अहिलेलाई उम्मेदवारको विषय खुला राख्दै संगठनात्मक गतिविधि र आन्तरिक संवादलाई समानान्तर रूपमा अघि बढाउने रणनीति लिएको छ ।