
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षालाई परीक्षा र प्रमाणपत्र प्राप्त गर्ने माध्यममा सीमित नराखी ज्ञान, विवेक, चरित्र र नागरिक जिम्मेवारी विकास गर्ने आधारका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
ललितपुरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न प्रेरित गर्ने खालको हुनुपर्ने बताएका हुन्।
उनका अनुसार शिक्षाको उपलब्धि केवल परीक्षामा प्राप्त अंक वा हातमा आउने प्रमाणपत्रबाट मापन गर्न सकिँदैन। व्यक्तिको सोच, व्यवहार, नैतिकता र समाजप्रतिको दायित्वबोध विकास गर्न सके मात्र शिक्षाले आफ्नो वास्तविक उद्देश्य पूरा गर्ने उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले नेपालको सामाजिक संरचना विविधतापूर्ण रहेकाले त्यसलाई आत्मसात् गर्ने शिक्षा आवश्यक रहेको बताए। नेपालमा विभिन्न भाषा, संस्कृति, परम्परा र जीवनपद्धति रहेको उल्लेख गर्दै उनले शैक्षिक प्रणालीले यही विविधतालाई सम्मान गर्ने संस्कार विद्यार्थीमा विकास गर्नुपर्ने धारणा राखे।
उनले शिक्षामार्फत राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना बलियो बनाउनुपर्नेमा जोड दिए। विविधतालाई विभाजनको आधार नभई राष्ट्रिय शक्तिका रूपमा बुझ्ने चेतना विद्यार्थीमा विकास गर्न शिक्षा प्रणालीले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले समयसँगै समाज र प्रविधिमा तीव्र परिवर्तन भइरहे पनि मानवीय मूल्यहरू कमजोर हुन नहुने बताए। उनका अनुसार आधुनिक प्रविधिको विकाससँगै इमानदारी, अनुशासन, सहिष्णुता, जिम्मेवारी र मानवीय संवेदनाजस्ता आधारभूत मूल्यलाई शिक्षाको केन्द्रमा राख्न आवश्यक छ।
सूचना प्रविधिको तीव्र विकास भइरहेको वर्तमान समयमा देशले कस्तो जनशक्ति खोजिरहेको छ भन्ने प्रश्नको उत्तर पनि शिक्षा प्रणालीबाटै खोजिनुपर्ने उनले बताए। बदलिँदो आवश्यकता र रोजगारीको प्रकृतिअनुसार विद्यार्थीलाई तयार पार्न पाठ्यक्रम तथा शिक्षण विधिमा समयानुकूल सुधार आवश्यक रहेको उनको धारणा थियो।
राष्ट्रपति पौडेलले प्रविधिको अधिकतम उपयोग गर्दै शिक्षालाई व्यवहारिक र समयसापेक्ष बनाउनुपर्ने बताए। केवल सैद्धान्तिक ज्ञानमा केन्द्रित शिक्षाभन्दा विद्यार्थीमा सिर्जनशीलता, समस्या समाधान गर्ने क्षमता र बदलिँदो परिस्थितिसँग अनुकूल हुन सक्ने सीप विकास गर्ने शिक्षातर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो।
उनले शिक्षा प्रणालीले आजका विद्यार्थीलाई भोलिको जिम्मेवार नागरिक र राष्ट्र निर्माणमा योगदान गर्न सक्ने जनशक्तिका रूपमा तयार गर्नुपर्ने बताए। त्यसका लागि पाठ्यक्रम, पठनपाठन र शिक्षण पद्धतिलाई समयको मागअनुसार परिमार्जन गर्दै लैजानुपर्नेमा उनले जोड दिए।
राष्ट्रपतिको भनाइमा शिक्षा व्यक्तिगत उन्नतिको माध्यम मात्र नभई समाज र राष्ट्र निर्माणको आधार पनि हो। त्यसैले प्रविधि र आधुनिक ज्ञानसँगै राष्ट्रिय चेतना, सामाजिक जिम्मेवारी र मानवीय मूल्यलाई समान महत्व दिने शैक्षिक प्रणाली विकास गर्नुपर्ने आवश्यकता उनले औंल्याए।









Facebook Comments