
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पदाधिकारी संख्या बढाउने विषयमा आन्तरिक छलफल थालेको छ। आगामी १५औँ महाधिवेशनमा विधान संशोधनमार्फत केही नयाँ पद सिर्जना गर्ने विकल्पबारे नेताहरूबीच छलफल भइरहेको हो।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट संशोधित विधानअनुसार कांग्रेसमा अहिले १७ जना पदाधिकारी रहने व्यवस्था छ। तर पदाधिकारीका आकांक्षी बढ्दै गएपछि उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या थप्ने विकल्पमा छलफल भइरहेको नेताहरूले बताएका छन्।
यद्यपि पदाधिकारी थप्ने विषयमा अहिलेसम्म कुनै औपचारिक प्रस्ताव वा निर्णय नभएको कांग्रेस प्रवक्ता देवराज चालिसेले स्पष्ट पारेका छन्।
शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा चालिसेले पदाधिकारीको संख्या यथावत् राख्ने वा बढाउने भन्ने विषय महाधिवेशन प्रतिनिधिको छलफलबाट टुंगो लाग्ने बताए। ‘पदाधिकारी बढाउने वा अहिले कायम रहेको संख्या नै राख्ने भन्ने कुरा महाधिवेशन प्रतिनिधिहरूमा निर्भर हुन्छ। बन्दसत्रमा यस विषयमा व्यापक छलफल हुन्छ,’ उनले भने।
कांग्रेसभित्र उपसभापतिको संख्या तीन पुर्याउने, त्यसमा कम्तीमा एक जना महिला रहने व्यवस्था गर्ने तथा महामन्त्री तीन जना बनाउने विकल्पबारे छलफल भइरहेको छ।
त्यस्तै, सहमहामन्त्रीको संख्या पनि हाल कायम व्यवस्थाभन्दा बढाएर करिब १५ पुर्याउने विषयमा नेताहरूबीच चर्चा भइरहेको बताइएको छ। तर यीमध्ये कुनै पनि प्रस्ताव औपचारिक रूपमा निर्णय भइसकेको छैन।
महामन्त्री प्रदीप पौडेलले पदाधिकारी संख्या वृद्धिसहितका विषय विधान संशोधनको प्रक्रियामै टुंगो लाग्ने बताए। उनका अनुसार विधानका विद्यमान व्यवस्थाको पुनरावलोकन, आवश्यक संशोधन तथा नयाँ प्रावधान थप्ने विषयमा गृहकार्य भइरहेको छ। ‘अहिलेसम्म केही टुंगिएको छैन। विधान संशोधनका विभिन्न विषय बन्दसत्रमा लैजाने तयारी छ,’ पौडेलले भने।
विशेष महाधिवेशनपछि लागू विधानअनुसार कांग्रेसमा हाल एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, निर्वाचनबाट आठ सहमहामन्त्री, मनोनीत तीन सहमहामन्त्री र एक मनोनीत कोषाध्यक्ष गरी १७ जना पदाधिकारी रहने व्यवस्था छ।
केन्द्रीय कार्यसमिति भने २३१ सदस्यीय हुने व्यवस्था छ। त्यसमा ६१ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्न सक्ने प्रावधान रहेको कांग्रेसले जनाएको छ।
यसअघि २०७८ मंसिरमा सम्पन्न १४औँ महाधिवेशनमा कांग्रेसको पदाधिकारी संख्या १४ थियो। त्यतिबेला कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था थियो। कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुँदैछ। महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने कांग्रेसको तयारी छ।
पदाधिकारी संख्या थप्ने वा नथप्ने विषय भने यही महाधिवेशनको बन्दसत्रमा विधान संशोधनमाथि हुने छलफलबाट टुंगिनेछ। यससँगै कांग्रेसमा पदाधिकारीका आकांक्षीको व्यवस्थापन, संगठनको आकार र नेतृत्व संरचनालाई प्रभावकारी बनाउने विषय महाधिवेशनको प्रमुख एजेन्डामध्ये एक बन्ने देखिएको छ।







Facebook Comments