
काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा पूर्वउपसभापति पूर्णबहादुर खड्काको पछिल्लो भूमिकाले नयाँ प्रश्न खडा गरेको छ। लामो समय पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्रका रूपमा रहेका खड्का अहिले देउवा पक्षले अघि बढाएको समानान्तर महाधिवेशन प्रक्रियाबाट दूरीमा छन्।
देउवा समूहले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्दा त्यसको सुरुवात खड्काले नै गरेका थिए। तर पछिल्लो समय उनी उक्त समूहका बैठक र गतिविधिमा सहभागी हुन छाडेका छन्। यसले खड्का देउवा समूहबाट अलग भएको चर्चा कांग्रेस वृत्तमा बढाएको छ।
खड्कानिकट नेताहरूका अनुसार देउवा समूहले छुट्टै महाधिवेशनको प्रक्रिया अघि बढाउँदै पार्टी विभाजनको दिशातर्फ जाने अवस्था बनेपछि उनी असन्तुष्ट भएका हुन्। खड्का स्वयंले भने आफू कुनै गुटको पक्षमा नभई कांग्रेस विभाजन रोक्ने पक्षमा रहेको बताउँदै आएका छन्।
देउवा समूहको समानान्तर गतिविधिपछि दूरी
साउन अन्तिमतिर खड्काकै नेतृत्वमा बसेको बैठकले राष्ट्रिय भेलाको मिति तय गरेको थियो। त्यसपछि उनी उक्त समूहको गतिविधिमा सक्रिय देखिएनन्।
देउवा पक्षले कांग्रेस नेता शशांक कोइरालालाई संयोजक तोकेर समानान्तर महाधिवेशनको प्रक्रिया अघि बढाएपछि खड्का थप दूरीमा पुगेको नेताहरू बताउँछन्।
२९ भदौमा खड्का निवास गोल्फुटारमा भएको छलफलपछि भने उनीनिकट केही नेताहरू संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी हुने निष्कर्षमा पुगेका थिए। खड्काकै सल्लाहअनुसार आफूहरू संस्थापनतर्फ लागेको नेता श्याम घिमिरेले बताएका छन्।
यद्यपि खड्का स्वयं संस्थापन पक्षको महाधिवेशन प्रक्रियामा खुलेर लागेका छैनन्।
खड्काले आफू महाधिवेशन प्रक्रियाबाट टाढा रहनुको प्रमुख कारण सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई बनाउँदै आएका छन्।
उनले असोज ३ गते सार्वजनिक वक्तव्यमार्फत आफू महाधिवेशनको कुनै पनि प्रक्रियामा सहभागी नरहेको स्पष्ट पारेका थिए। कांग्रेस विभाजनको अवस्थामा पुगेको भन्दै उनले पार्टीभित्रको पुनरावलोकनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा पनि सार्वजनिक गरेका थिए।
देउवा र अन्य अग्रज नेतासँग संवाद अघि बढाउन पनि खड्काले आग्रह गर्दै आएका छन्। उनको जोड पार्टी विभाजनभन्दा संवाद र सहमतिमार्फत विवाद समाधान गर्नुपर्नेमा देखिन्छ। खड्काको अहिलेको राजनीतिक अवस्थालाई कांग्रेसभित्र ‘न देउवा, न गगन’का रूपमा व्याख्या गर्न थालिएको छ।
देउवा सिंगापुरबाट फर्किएपछि खड्कासँग एकपटक मात्र भेट भएको नेताहरूको दाबी छ। पछिल्लो समय उनी न चुनदेवीस्थित देउवा समूहको सम्पर्क कार्यालय पुग्छन्, न देउवा निवास नै।
यसबीच सभापति गगन थापासँग भने खड्काको भेट भएको छ। थापा स्वयं पनि एकपटक खड्काको निवास पुगेका थिए। तर त्यसका आधारमा खड्का थापा पक्षमा खुलेको निष्कर्ष निकाल्न सकिने अवस्था छैन।
खड्काले आफूलाई भेट्न आउने नेता तथा कार्यकर्तासँग कांग्रेसको मूल संगठन र पार्टीको आधिकारिक संरचनासँगै आफू रहेको बताउने गरेका छन्।
देउवासँगको लामो सहकार्यपछि फरक बाटो
पूर्णबहादुर खड्का लामो समयदेखि देउवाका निकट सहयोगीका रूपमा कांग्रेस राजनीतिमा सक्रिय थिए। देउवा पार्टी नेतृत्वमा रहँदा खड्काले उपसभापतिसहित महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए।
त्यसैले अहिले उनी देउवा पक्षको समानान्तर गतिविधिबाट टाढिनुलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि खड्काले आफू देउवाविरुद्ध वा थापा पक्षमा गएको नभई पार्टी विभाजनको विपक्षमा रहेको बताउँदै आएका छन्।
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले पनि खड्काको वर्तमान अडानलाई पार्टी एकतासँग जोडेर हेर्छन्। उनका अनुसार कांग्रेस अहिले पुनर्गठन र रूपान्तरणको चरणमा रहेकाले आगामी महाधिवेशनले पार्टीलाई नयाँ ढंगले अघि बढाउने अवसर दिन सक्छ।
खड्काको अहिलेको ‘प्राविधिक’ अडान जे भए पनि उनी पार्टी एकताको पक्षमा रहेकाले अन्ततः कांग्रेसको मूल प्रवाहमै समाहित हुने सम्भावना रहेको वाग्लेको विश्लेषण छ।
यसरी कांग्रेस महाधिवेशनको प्रक्रिया अघि बढ्दै जाँदा खड्काको भूमिका भने अझै खुलिसकेको छैन। उनी देउवा समूहमा सक्रिय छैनन्, थापा पक्षमा पनि खुलेका छैनन्। पार्टी विभाजन रोक्ने र विवाद समाधानका लागि संवादमा जोड दिइरहेका खड्काको आगामी कदमले कांग्रेसभित्रको शक्ति समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने चासो भने बढेको छ।







Facebook Comments