
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रचारप्रसारमा भड्किलो शैली नअपनाउने भएको छ। महाधिवेशनसम्बन्धी सूचना तथा सन्देश प्रवाहका लागि देशका प्रमुख सहर तथा बजारमा रहेका करिब १ सय डिजिटल बोर्ड प्रयोग गर्न थालिएको कांग्रेसले जनाएको छ।
शुक्रबार महाधिवेशन तयारीबारे आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले काठमाडौं उपत्यकासहित प्रमुख सहरमा रहेका डिजिटल बोर्डमार्फत महाधिवेशनका गतिविधि र आवश्यक सूचना सार्वजनिक गर्न थालिएको जानकारी दिए।
प्राकृतिक विपद्बाट ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थालाई ध्यानमा राखेर महाधिवेशनमा अनावश्यक तामझाम नगर्ने नीति लिइएको चालिसेको भनाइ छ। उनका अनुसार कार्यक्रमस्थलमा मुख्य प्रवेशद्वारबाहेक अन्य स्थानमा प्रचार सामग्री राखिने छैन।
महाधिवेशनमा उम्मेदवारी दिने आकांक्षी तथा उम्मेदवारलाई समेत प्रचारका लागि डिजिटल माध्यम प्रयोग गर्न कांग्रेसले आग्रह गरेको छ।
७ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
केन्द्रीय निर्वाचन समितिको विवरणअनुसार कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्। प्रवक्ता चालिसेले कांग्रेसको इतिहासमा पहिलोपटक यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि सहभागी हुन लागेको बताए।
प्रतिनिधिहरूले असोज १८ गते उद्घाटन समारोहमा सहभागिता जनाउनेछन्। त्यसपछि १९ र २० गते बन्दसत्र तथा २१ र २२ गते निर्वाचन प्रक्रियामा सहभागी हुने कार्यतालिका रहेको कांग्रेसले जनाएको छ।
प्राकृतिक विपद्का कारण पूर्वनिर्धारित मितिभन्दा दुई दिन ढिलो गरी महाधिवेशन सुरु हुन लागेको हो। यसअघि असोज १६ गतेदेखि महाधिवेशन गर्ने तय गरिएको थियो।
कांग्रेसको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ। कांग्रेसका अनुसार रास्वपा सभापति रवि लामिछाने, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी हुने निश्चित भएको छ।
त्यस्तै, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यवाहक महासचिव श्याम पौडेल पनि उद्घाटन समारोहमा सहभागी हुनेछन्।
अन्तर्राष्ट्रिय पाहुनातर्फ सोसलिस्ट इन्टरनेशनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन्। अन्य विदेशी अतिथिको सहभागिता पनि सुनिश्चित गर्ने प्रक्रिया जारी रहेको चालिसेले बताए।
कांग्रेसले महाधिवेशन व्यवस्थापनका लागि १५ वटा समिति गठन गरेको छ। काठमाडौंको खुलामञ्चमा उद्घाटनका लागि मञ्च निर्माण तीव्र पारिएको छ भने बन्दसत्र सञ्चालन हुने हलहरूको व्यवस्थापन पनि भइरहेको छ।
महाधिवेशनस्थलमै सञ्चारकर्मीका लागि मिडिया सेन्टर र प्राथमिक उपचार केन्द्र स्थापना गर्ने तयारी गरिएको छ।
प्रतिनिधिको आवास व्यवस्थापनका लागि प्रत्येक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट संयोजक तोकिएको कांग्रेसले जनाएको छ। उनीहरूले सम्बन्धित क्षेत्रबाट आउने प्रतिनिधिको बसोवास व्यवस्थापनमा समन्वय गर्नेछन्।
प्रतिनिधिका लागि एयरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क आसपासका क्षेत्रमा आवासको व्यवस्था गरिएको छ। आवास र कार्यक्रमस्थलसम्मको आवतजावत खर्च भने प्रतिनिधिले आफैं बेहोर्नुपर्नेछ।
आवाससम्बन्धी विवरण ह्वाट्सएप, एआई नम्बर तथा एसएमएसमार्फत उपलब्ध गराइनेछ। प्रतिनिधिका लागि बिहान, दिउँसो र साँझको भोजनको व्यवस्था भृकुटीमण्डपमा गरिएको कांग्रेसले जनाएको छ।
महाधिवेशनसँग सम्बन्धित सूचना नियमित रूपमा सार्वजनिक गर्न कांग्रेसले अब दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ। शनिबारदेखि कार्यक्रमस्थलमै स्थापना गरिने मिडिया सेन्टरबाट पत्रकार सम्मेलन सञ्चालन गरिने प्रवक्ता चालिसेले जानकारी दिए।







Facebook Comments