काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने भएका छन्। काठमाडौंको खुलामञ्चमा असोज १८ देखि २२ गतेसम्म हुने महाधिवेशनका लागि अहिलेसम्म ७ हजार २८ जना प्रतिनिधि चयन भइसकेका छन्।

कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार भ्रातृ तथा शुभेच्छुक संस्थाबाट आउने प्रतिनिधिको संख्या अझै टुंगो लाग्न बाँकी छ। त्यसबाहेक सभापति गगन थापाले ७५ जना प्रतिनिधि मनोनयन गर्न बाँकी रहेकाले अन्तिम संख्या बढ्नेछ।

ad

मनोनीत तथा भ्रातृ र शुभेच्छुक संस्थाबाट आउने प्रतिनिधिसमेत जोड्दा महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने कांग्रेसको अनुमान छ।

यसपटक प्रतिनिधिको संख्या अघिल्लो महाधिवेशनको तुलनामा उल्लेख्य बढेको छ। कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ जना प्रतिनिधि सहभागी भएका थिए। त्यतिबेला प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था थियो।

१५औँ महाधिवेशनमा भने प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३३ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने व्यवस्था गरिएको छ। यही व्यवस्थाका कारण यसपटक महाधिवेशन प्रतिनिधिको संख्या बढेको हो।

कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन र बन्दसत्र दुवै खुलामञ्चमै गर्ने तयारी गरिरहेको जनाएको छ। असोज १८ गतेदेखि सुरु हुने महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ।