काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि खाना तथा खाजाको व्यवस्था पार्टीकै तर्फबाट गर्ने भएको छ। तर प्रतिनिधिको आवास र कार्यक्रमस्थलसम्मको आउजाउ खर्च भने स्वयंले बेहोर्नुपर्नेछ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशन अवधिभर प्रतिनिधिका लागि बिहान, दिउँसो र साँझको भोजन तथा खाजाको प्रबन्ध पार्टीले मिलाएको छ। करिब ७ हजार ५०० प्रतिनिधि महाधिवेशनमा सहभागी हुने अनुमान गरिएको छ।

ad

महाधिवेशन असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ। प्रवक्ता चालिसेका अनुसार उद्घाटनदेखि बन्दसत्रसम्मका मुख्य कार्यक्रम खुलामञ्चमा हुनेछन्।

प्रतिनिधिको आवास व्यवस्थापनका लागि कांग्रेसले प्रत्येक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक–एक जना संयोजक तोकेको छ। उनीहरूले सम्बन्धित भूगोलबाट आउने प्रतिनिधिको बसोवास व्यवस्थापनमा समन्वय गर्नेछन्।

कांग्रेसका अनुसार प्रतिनिधिका लागि एयरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क आसपासका क्षेत्रमा आवासको व्यवस्था गरिएको छ। तर आवासको खर्च तथा होटल वा आवासस्थलबाट कार्यक्रमस्थलसम्मको आवतजावत खर्च प्रतिनिधि आफैंले व्यहोर्नुपर्नेछ।

प्रतिनिधिले आफूलाई तोकिएको आवाससम्बन्धी विवरण ह्वाट्सएप र एसएमएसमार्फत प्राप्त गर्ने व्यवस्था मिलाइएको प्रवक्ता चालिसेले जानकारी दिए।

महाधिवेशनका क्रममा प्रतिनिधिलाई उपलब्ध गराइने खाना तथा खाजाको व्यवस्थापन भने भृकुटीमण्डपमा गरिने कांग्रेसले जनाएको छ। प्रतिनिधिहरूका लागि बिहान, दिउँसो र साँझको भोजनको व्यवस्था त्यहीँबाट हुनेछ।